सपनाको पछाडि यसरी दौंडिएँ : भवानी राणा

0
56

भवानी राणा सफल व्यवसायी हुनुहुन्छ। उहाँ व्यावसायिक घरानामा नजन्मिए पनि कर्म भने व्यवसाय नै बनाउनु भयो । शुरू गरेपछि दृढताका साथ काम सम्पन्न गर्ने राणा नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष हुने पहिलो महिला हुनुहुन्छ। राणा आफूमात्र सफल उद्यमी तथा व्यवसायी बन्नु भएको छैन्, उहाँले नेपाली महिला पनि अब्बल व्यवसायी बन्न सक्छन् र नेतृत्वसम्म पुग्न सक्छन् भन्ने आत्मविश्वास समेत जगाउनु भयो। उद्यमी राणासँग नारी नेपालकी सम्पादक पूजा ढकालले ‘नारी उद्यमी’का विषयमा गरेको कुराकानी :
उद्योग वााणिज्य महासङ्घको अध्यक्षको कार्यकाल सकिएपछि अहिले केमा व्यस्त हुनुहुन्छ ?

अहिले आफ्नै व्यवसाय सञ्चालन तथा महासङ्घमा मैले लिएको जिम्मेवारीे पूरा गर्नमा व्यस्त छु ।

व्यवसायमा कसरी प्रवेश गर्नुभयो र देशको निजीक्षेत्रको सबैभन्दा ठूलो संस्थाको नेतृत्वसम्म पुग्न सफल हुनुभयो ?

म व्यावसायिक घरानाबाट आएकी होइन । मेरो बुबा अञ्चलाधीश हुनुहुन्थ्यो । त्यसबेला म सेन्टम्यारिज स्कुलमा पढ्थेँ । छुट्टीको समयमा हामी (म र दिदी) बुबा भएको ठाउँमा जान्थ्यौं । बुबा जिल्ला–जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी भइरहनुहुन्थ्यो । दिदी र म ती कार्यक्रममा पनि जान्थ्यौं ।

यसरी बुबासँग कार्यक्रममा प्रत्यक्ष सहभागी हुँदा धेरै कुरा जान्ने र सिक्ने मौका पाएँ । बुबा विभिन्न कार्यक्रममा मञ्चमा बसेको देख्दा आफू पनि यस्तै मञ्चमा बस्न पाए हुन्थ्यो धेरै मान्छेका अगाडि बोल्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । यसैले होला मलाई सानैदेखि नेतृत्वमा पुग्नुपर्छ भन्ने लाग्थ्यो । तर, केको नेतृत्व गर्ने, कसरी त्यहाँ पुग्ने भन्नेचाहिँ थाहा थिएन ।

विद्यार्थी जीवनमा मैले धेरै कुरा सिक्न पाएँ । यसै समयमा मलाई आफू आत्मनिर्भर हुनुपर्छ भन्ने सोच पनि आयो । यसमा मेरी आमाको भूमिका ठूलो छ । आमाले सधैँ महिला र पुरुषमा कुनै भेदभाव हुँदैन भन्नुहुन्थ्यो । घरबाट मैले आफैले केही गर्नुपर्छ भन्ने संस्कार पाएँ । विवाहपछि म नेपालगञ्ज गएँ, त्यहाँ मेरा श्रीमान् व्यवसाय गर्ने भएकाले म पनि व्यवसायमै प्रवेश गरेँ ।

विवाहअघि विद्यार्थी हुँदा केही हुटहुटी जागिरहन्थ्यो । आफैले कमाएको पैसा गोजीमा बोक्ने रहर हुन्थ्यो । विवाहपछि आफैले व्यवसाय शुरू गँरे । नेपालगञ्जमा जिल्ला उद्योग वाणिज्य सङ्घमा आबद्ध भए । समुदायमा पनि विभिन्न काम गर्दै गए । नेतृत्वमा पुग्ने प्रयास गरिरहेँ । यी सबै पृष्ठभूमिले मलाई व्यवसायी बनाएर नेतृत्वसम्म पुर्‍यायो ।

महिला भएकै कारण व्यवसाय तथा नेतृत्वदायी भूमिका निर्वाह गर्न गाह्रो भयो वा भएन ?

नेतृत्वमा पुग्नु भनेको अवश्य पनि चुनौतीपूर्ण र गाह्रो कुरा हो । नेपाल पुरुषप्रधान देश भएकाले व्यवसायमा मात्र होइन, महिलालाई अन्य जुनसुकै क्षेत्रको नेतृत्वमा पुग्न उत्तिकै चुनौती छ । चुनौतीका बाबजुद महिलालाई अहिले अवसर पनि छ । सरकार र अन्य निजी, संस्थाले पनि महिला सशक्तीकरणका लागि काम गरिरहेका छन् ।

महिला आफैले निकै मेहनत गर्नुपर्छ । मेहनतविना सफलता सम्भव छैन । लक्ष्यसम्म पुग्न कडा मेहनत आवश्यक पर्छ । सकारात्मक सोच पनि राख्नुपर्छ । सकारात्मक सोचले नै हामीलाई अघि बढ्न प्रेरणा दिइरहन्छ । हिम्मत र प्रेरणाले नेतृत्व सम्हाल्न सजिलो हुन्छ । चुनौती नआएका होइनन् तर चुनौतीलाई पार लगाउँदै म अघि बढिरहेँ । महिला भएकै कारण मैले त्यस्तो कुनै विभेद भने भोग्नु परेन ।

अध्यक्ष भएका बेला देश दौडाहामा निस्कनुभयो होला, नेपालमा महिला उद्यमीको अवस्था कस्तो पाउनुभयो ?

नेपालको उद्यम तथा अन्य आयआर्जनको क्षेत्रमा महिलाको योगदान धेरै नै छ । तर, यसलाई प्रत्यक्ष रूपमा देखिएको भने पाइँदैन । ठूला उद्योगधन्दा कलकारखाना सम्हाल्ने ठाउँमा पुरुष नै हुन्छन् । महिला साना घरेलु तथा ह्यान्डीक्राफ्ट उद्योगमा लागेको पाइन्छ । पर्यटन, कृषिमा पनि महिला उद्यमी धेरै छन् । त्यसको मूल्याङ्कनचाहिँ कम नै छ ।

मैले गाउँ–गाउँका महिला उद्यमीसँग भेटेँ उनीहरू एकदम सक्षम छन् । सीप असाध्यै राम्रो छ तर सीप प्रवद्र्धन गर्न बजार व्यवस्थापन आवश्यक रहेको पाएँ । नेपाली महिलामा धेरै सीप र हिम्मत पनि छ । उनीहरूको सीपलाई निखार्ने र महिलाको आत्मविश्वासलाई दरो बनाउनुपर्ने छ ।

महिला उद्यमशीलताको विकासका लागि नेपालमा कसरी काम गर्न सकिन्छ ?

जबसम्म महिला आफै आर्थिक रूपमा सक्षम हुँदैनन् तबसम्म उनीहरूको आत्मविश्वास बढ्दैन र सफल पनि हुन सक्दैनन् । अहिले महिलामा व्यावसायिक सोच आएको छ र उद्यम–व्यवसायमा अघि बढिरहेका पनि छन् । अहिले जिल्लाहरूमा महिलालाई उद्यमी बनाउन संस्था पनि निर्माण भएका छन् ।

यसले महिलालाई ग्रामीण क्षेत्रबाट नै उद्यममा लाग्न प्रेरित गरेको छ । यतिले मात्र पुग्दैन, महिलालाई तालिम र पूँजीको व्यवस्था हुनुपर्छ । महिलालाई जहिल्यै पनि पूँजीको कमी हुने गरेको पाइन्छ । महिलालाई पारिवारिक समस्यासँग जुधिरहनुपर्छ ।

महिलालाई उद्यमी बनाउन कसरी पूँजी जुटाउन सकिन्छ भनेर महासङ्घ, चेम्बर पनि जिल्लामा लागि परेका छन् । सरकारले पनि अहिले महिलाका लागि सहुलियत दरमा कर्जा उपलब्ध गराएर सहयोग गरिरहेको छ । नयाँ प्रविधि र पूँजीमा खुला पहुँच अवश्यक छ ।

आम नेपाली महिलाले पूँजी जुटाउने उपाय के हुनसक्छ ?

महिला र पुरुषका बीचमा ठूलो खाडल छ, जस्तो पुरुषले व्यवसाय गर्ने चाहेमा उसले घर धितोमा राखेर पनि व्यवसाय गर्नसक्छ । किनकी उसको सम्पत्तिमा प्रत्यक्ष अधिकार छ । पछिल्लो समय सम्पत्तिमा महिलाको पनि अधिकार छ भनिन्छ तर त्यो व्यवहारमा लागू भएको छैन ।

महिलाले विवाहअघि केही गर्न खोज्यो भने आमाबुबाको सहयोग लिनुपर्ने, विवाहपछि श्रीमान् र छोराहरूको सहयोग लिनुपर्ने हुन्छ । धेरैले त सहयोग पनि पाउँदैनन् । महिलाले सहुलियत दरमा बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउने ऋणको उपयोग गरेर व्यवसायमा प्रवेश गर्नुपर्छ । शुरू गरेको व्यवसायलाई पुनः धितोमा राखेर व्यवसाय विस्तार गर्न पनि सकिन्छ । सरकारले महिला उद्यमीलाई दिने कर्जा पनि सर्वसुलभ, छिटोछरितो र झन्झटरहित हुनुपर्छ ।

एउटी महिलाले उद्यमी बन्ने सपना देखिन् भने पूरा हुने सम्भावना कति छ ?

हामी कसैले सपना नदेखी कुनै कुरा पूरा गर्न सक्दैनाँै । मेरो व्यक्तिगत जीवनलाई हेर्नुहुन्छ भने पनि मैले सपना देखेँ र त्यसको पछाडि दौडिएँ । महिला होस् वा पुरुष सपना देख्नैपर्छ । सपना सफल बनाउन निकै मेहनत गर्नुपर्छ । दृढसङ्ककल्पसहित अघि बढेपछि सपना पक्कै पूरा हुन्छ भन्ने कुरामा म विश्वास गर्छु ।

संयोग नै मान्नुपर्छ तपाईं नेपालको निजीक्षेत्रको ठूलो संगठनको अध्यक्ष बन्नुभयो, सोही समयको आसपासमा नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख सबै महिला हुनुहुन्थ्यो । नेपालका लागि यो ऐतिहासिक कुरा पनि थियो ? यसले तपाईंलाई कस्तो महसुस गरायो र महिला सशक्तीकरणमा यसले कस्तो भूमिका खेल्यो ?

यो गर्वको विषय हो । राष्ट्रपतिमा महिला, निजीक्षेत्रमा महिला, न्यायालयमा महिला र संसद्को उपल्लो दर्जामा पनि महिला । वास्तवमै यो ऐतिहासिक क्षण थियो । एकपटक मात्र त्यहाँ पुगेर हुँदैन, यसको निरन्तरता हुनुपर्छ ।

आगामी दिनमा नेतृत्वमा आउन समग्र महिलामा हिम्मत पैदा गर्नु पनि हो । मेरो क्षेत्रको मात्र कुरा गर्दा जिल्ला–जिल्लामा उद्योग वाणिज्य सङ्घमा मनोनीत गरेर महिला ल्याउने गरिन्थ्यो । तर, उनीहरूले अहिले हामी मनोनीत होइन, चुनाव लडेर जान्छौं भन्नुहुन्छ । चुनावमा प्रतिस्पर्धी भएर आएको अवस्था छ ।

महिलालाई सधैँ सदस्यमा मात्र राखिन्थ्यो । अब सदस्यमात्र होइन, पदाधिकारीमा हामी जानुपर्छ भन्दै उहाँहरू आउनुभएको छ । महिला म पनि सक्षम छु भनेर अगाडि आउनु गर्वको कुरा हो । उहाँहरूमा जागरुकताका र आत्मविश्वास आउनु भनेको एकदम सकारात्मक पक्ष हो ।

तपाईंको व्यवसायको पनि कुरा गरौँ । नेपालगञ्जको आफ्नो पुख्र्यौली घरमा १० वटा कोठाबाट शुरू गरिएको होटल स्नेहाको अवस्था कस्तो छ ?
दशओटा कोठाबाट शुरू गरेको होटेल स्नेहा अहिले ६५ ओटा कोठामा विस्तार भएको छ । अहिले चारतारे होटलका रूपमा सञ्चालन गरिरहेका छौँ । कोरोनाको समयमा समग्र पर्यटन व्यवसायमा धक्का पुग्यो । आशा छ अब चाँडै होटल व्यवसाय पहिलाकै अवस्थामा फर्कन्छ । अहिले आन्तरिक र बाह्य पर्यटकको आगमन भइरहेको छ । यसले अब होटल व्यवसाय पनि राम्रैसँग अघि बढ्छ ।

होटलबाहेक अन्य कुन–कुन क्षेत्रमा व्यवसाय विस्तार गर्नुभएको छ ?

होटलबाहेक कृषि, स्वास्थ्य सामग्री, बीमामा पनि हाम्रो व्यवसाय छ ।

त्यसो भए अहिले परिवार नै व्यवसायमा आबद्ध हुनुहुन्छ ?

मेरो बुबा सरकारी कर्मचारी, यता घरतिर सासूआमा पनि सांसद हुनुहुन्थ्यो, बुबाआमा स्वर्गे भइसक्नुभयो । अहिले हामी छोराछोरी सबै व्यवसायमा आबद्ध छौं ।

तपाईंको बाल्यकाल कसरी बित्यो ?

बाल्यकाल मेरो सारै रमाइलोसँग बित्यो । बुबा राजधानीबाहिर भएकाले म सानैदेखि होस्टलमा नै बसेर पढे र, त्यहीँ हुर्किए । हामी दिदीबैनी दुवै सेन्टमेरिजमा पढ्यौं । छुट्टीमा घर आउथ्यौँ । सानो छँदा म पढाइमा भन्दा पनि अन्य क्रियाकलाप गर्ने, खेल्ने, चकचक गर्नेमा पोख्त थिए ।

बुबा धेरै व्यस्त हुनुहुन्थ्यो । आमाले हामीलाई सधैँ केही न केहीमा व्यस्त राख्ने गर्नुहुन्थ्यो । छुट्टीमा घर आएको बेलामा हामीलाई पौडी र सङ्गीत सिक्न पठाउनुहुन्थ्यो । बाल्यकाल रमाइलोसँग नै बित्यो ।

तपाईंको दिनको शुरुआत कसरी शुरू हुन्छ ?

दिनको शुरुआत सकारात्मक सोचबाट हुनैपर्छ । मेरो दिन आर्टअर्फ लिभिङबाट शुरू हुन्छ । सामान्य कसरत गर्छु, कसरतपछि नित्य पूजा गर्छु । यसले मलाई दिनभर शक्ति प्रदान गर्छ । त्यसपछि म अरू दैनिक काममा व्यस्त रहन्छु ।