‘सपनाको पछाडि यसरी दौंडिए’ : भवानी राणा

0
31

भवानी राणा आफैमा एक सफल व्यवसायी हुन् । उनी व्यवसायिक घरनामा नजन्मिए पनि कर्म भने व्यवसाय नै बनाइन् । शुरु गरेपछि दृढताका साथ काम सम्पन्न गर्ने राणा नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष हुने पहिलो महिला हुन् ।

राणा आफूमात्र सफल उद्यमी तथा व्यवासयी बनेकी छैनन्, उनले नेपाली महिला पनि अब्बल व्यवसायी बन्न सक्छन् र नेतृत्वसम्म पुग्न सक्छन् भन्ने आत्मविश्वास समेत जगाइन । उद्यमी राणासँग नारी नेपालकी सम्पादक पूजा ढकालले ‘नारी उद्यमी’का विषयमा गरेको कुराकानी ।

उद्योग वााणिज्य महासङ्घको अध्यक्षको कार्यकाल सकिएपछि अहिले केमा व्यस्त हुनुहुन्छ ?
अहिले आफ्नै व्यवसाय सञ्चालन तथा महासङ्घमा मैँले लिएको जिम्मेवारी पूरा गर्न व्यस्त छु ।

व्यवासयमा कसरी प्रवेश गर्नुभयो र देशको निजी क्षेत्रको सबैभन्दा ठूलो संस्थाको नेतृत्वसम्म पुग्न सफल हुनुभयो ?

म व्यवसायिक घरनाबाट आएकी होइन । मेरो बुवा अञ्चलाधीश हुनुहुन्थ्यो । त्यसबेला म सेन्टम्यारिज स्कुलमा पढ्थे । छुट्टीको समयमा हामी (म र दिदी) बुवा भएको ठाउँमा जान्थ्यौं । बुवा जिल्ला–जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी भइरहनुहुन्थ्यो । दिदी र म ती कार्यक्रममा पनि जान्थ्यौं ।


यसरी बुवासँग कार्यक्रममा प्रत्यक्ष सहभागी हुँदा धेरै कुरा जान्ने र सिक्ने मौका पाए । बुवा विभिन्न कार्यक्रममा मञ्चमा बसेको देख्दा मलाई पनि मञ्चमा बस्न पाए हुन्थ्यो धेरै मान्छेका अगाडि बोल्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । यसैले होला मलाई सानैदेखि नेतृत्वमा पुग्नुपर्छ भन्ने लाग्थ्यो । तर, केको नेतृत्व गर्ने, कसरी त्यहाँ पुग्ने भन्ने चाहिँ थाहा थिएन ।

विद्यार्थी जीवनमा मैले धेरै कुरा सिक्न पाएँ । यसै समयमा मलाई आफू आत्मनिर्भर हुनुपर्छ भन्ने सोँच पनि आयो । यसमा मेरी आमाको भूमिका ठूलो छ । आमाले सधैँ महिला र पुरुषमा कुनै भेदभाव हुँदैन भन्नुहुन्थ्यो । घरबाट मैँले आफैंले केही गर्नुपर्छ भन्ने संस्कार पाएँ ।

विवाहपछि म नेपालगञ्ज गए त्यहाँ मेरो श्रीमान व्यवसाय गर्ने भएकाले म पनि व्यवसायमै प्रवेश गरे । विवाहअघि विद्यार्थी हुँदा केही हुटहुटी जागिरहन्थ्यो । आफैंले कमाएको पैसा गोजीमा बोक्ने रहर हुन्थ्यो । विवाहपछि आफैंले व्यवसाय शुरु गरे ।

नेपालगञ्जमा जिल्ला उद्योगवाणिज्य सङ्घमा आवद्ध भए । समुदायमा पनि विभिन्न काम गर्दै गए । नेतृत्वमा पुग्ने प्रयास गरिरहेँ । यी सबै पृष्ठभूमिले मलाई व्यवसायी बनाएर नेतृत्वसम्म पु¥यायो ।

महिला भएकै कारण व्यवसाय तथा नेतृत्वदायी भूमिका निर्वाह गर्न गाह्रो भयो वा भएन ?

नेतृत्वमा पुग्नु भनेको अवश्य पनि चुनौतीपूर्ण र गाह्रो कुरा हो । नेपाल पुरुषप्रधान देश भएकाले व्यवसायमा मात्र होइन महिलालाई अन्य जुनसुकै क्षेत्रको नेतृत्वमा पुग्न उत्तिकै चुनौती छ । चुनौतीका बावजुत महिलालाई अहिले अवसर पनि छ । सरकार र अन्य निजी, संस्थाले पनि महिला शसक्तीकरणका लागि काम गरिरहेका छन् ।

महिला आफैंले निकै मिहिनत गर्नुपर्छ । सफलता मिहिनतविना सम्भव छैन । लक्ष्यसम्म पुग्न कडा मिहिनत आवश्यक पर्छ । सकारात्मक सोँच राख्नुपर्छ । सकारात्मक सोँचले नै हामीलाई अघि बढ्न प्रेरणा दिइरहन्छ ।

हिम्मत र प्रेरणाले नेतृत्व सम्हाल्न सजिलो हुन्छ । चुनौती नआएका होइनन् तर चुनौतीलाई पार लगाउँदै म अघि बढिरहे । महिला भएकै कारण मँैले त्यस्तो कुनै विभेद भने भोग्नुपरेन ।

अध्यक्ष भएको बेला देश दौडाहामा निस्कनु भयो होला नेपालमा महिला उद्यमीको अवस्था कस्तो पाउनुभयो ?

नेपालको उद्यम तथा अन्य आयआर्जनको क्षेत्रमा महिलाको योगदान धेरै नै छ । तर, यसलाई प्रत्यक्ष रूपमा देखिएको भने पाइदैन । ठूला उद्योगधन्दा कलकारखाना सम्हाल्ने ठाउँमा पुरुष नै हुन्छन् ।

महिला साना घरेलु तथा ह्याण्डीक्राफ्ट उद्योगमा लागेको पाइन्छ । पर्यटन, कृषिमा पनि महिला उद्यमी धेरै छन् । त्यसको मूल्याङ्कनचाहिँ कम नै छ । मैले गाउँ–गाउँका महिला उद्यमीसँग भेटे उनीहरू एकदम सक्षम छन् ।

सीप असाध्यै राम्रो छ तर, सीपको प्रवर्धन गर्नलाई बजार व्यवस्थापन आवश्यक रहेको पाएँ । नेपाली महिलामा धेरै सीप र हिम्मत पनि छ । उनीहरूको सीपलाई निखार्ने र महिलाको आत्मविश्वासलाई दरो बनाउनुपर्ने छ ।

महिला उद्यमशिलताको विकासका लागि नेपालमा कसरी काम गर्न सकिन्छ ?
जबसम्म महिला आफैं आर्थिकरूपमा सक्षम हुँदैनन् तबसम्म उनीहरूको आत्मविश्वास बढ्दैन र सफल पनि हुन सक्दैनन् । अहिले महिलामा व्यवसायिक सोँच आएको छ र उद्यम–व्यवसायमा अघि बढिरहेका पनि छन् ।


अहिले जिल्लाहरूमा महिलालाई उद्यमी बनाउन संस्था पनि निर्माण भएका छन् । यसले महिलालाई ग्रामीण क्षेत्रबाट नै उद्यममा लाग्न प्रेरित गरेको छ । यतिले मात्र पुग्दैन महिलालाई तालीम र पूँजीको व्यवस्था हुनुपर्छ । महिलालाई जहिल्यै पनि पूँजीको कमी हुने गरेको पाइन्छ । महिलालाई पारिवारिक समस्यासँग जुधिरहन पर्छ ।


महिलालाई उद्यमी बनाउन कसरी पूँजी जुटाउन सकिन्छ भनेर महासङ्घ, चेम्बर पनि जिल्लामा लागि परेका छन् । सरकारले पनि अहिले महिलाका लागि सहुलियत दरमा कर्जा उपलब्ध गराएर सहयोग गरिरहेको छ । नयाँ प्रविधि र पूँजीमा खुला पहुँच अवश्यक छ ।


आम नेपाली महिलाले पूँजी जुटाउने उपाय के हुनसक्छ ?
महिला र पुरुषका बीचमा ठूलो खाडल छ, जस्तो पुरुषले व्यवसाय गर्ने चाहेमा उसले घर धितोमा राखेर पनि व्यवसाय गर्नसक्छ । किनकी उसको सम्पतिमा प्रत्यक्ष अधिकार छ । पछिल्लो समय सम्पतिमा महिलाको पनि अधिकार छ भनिन्छ तर, त्यो व्यावहारमा लागू भएको छैन ।

महिलाले विवाहअघि केही गर्न खोज्यो भने आमा बुवाको सहयोग लिनुपर्ने, विवाहपछि श्रीमान र छोराहरूको सहयोग लिनुपर्ने हुन्छ । धेरैले त सहयोग पनि पाउँदैनन् ।


महिलाले सहुलियत दरमा बैङ्क तथा वित्तीय संस्थाले उपलब्ध गराउने ऋणको उपयोग गरेर व्यवसायमा प्रवेश गर्नुपर्छ । शुरु गरेको व्यवासयलाई पुनः धितोमा राखेर व्यवसायलाई विस्तार गर्न पनि सकिन्छ । सरकारले महिला उद्यमीलाई दिने कर्जा पनि सर्वसुलभ र छिटोछरितो झन्झटरहीत हुनुपर्छ ।


एउटी महिलाले उद्यमी बन्ने सपना देखिन भने पूरा हुने सम्भावना कति छ ?
हामी कसैले सपना नदेखी कुनै कुरा पूरा गर्न सक्दैनौँ । मेरो व्यक्तिगत जीवनलाई हेर्नुहुन्छ भने पनि मैँले सपना देखेँ र त्यसको पछाडि दौडिएँ । महिला होस् वा पुरुष सपना देख्नै पर्छ । सपना सफल बनाउन निकै मिहिनत गर्नुपर्छ । दृढ सङ्ककल्पसहित अघि बढेपछि सपना पक्कै पूरा हुन्छ भन्ने कुरामा म विश्वास गर्छु ।

संयोग नै मान्नुपर्छ तपाई नेपालको निजी क्षेत्रको ठूलो संगठनको अध्यक्ष बन्नु भयो, सोही समयको आसपासमा नेपालमा राष्ट्रपति, प्रधानन्यधीश, सभामुख सबै महिला हुनुहुन्थ्यो । यो नेपालका लागि यो एतिहासिक कुरा पनि थियो ? यसले तपाईलाई कस्तो महशुस गरायो र महिला शसक्तीकरणमा यसले कस्तो भूमिका खेल्यो ?

यो गर्वको विषय हो । राष्ट्रपतिमा महिला, निजीक्षेत्रमा महिला, न्यायलयमा महिला र संसद्को उपल्लो दर्जामा पनि महिला । वास्तवमै यो एतिहासिक क्षण थियो । एकपटक मात्र त्यहाँ पुगेर हुँदैन, यसको निरन्तरता हुनुपर्छ ।


आगामी दिनमा नेतृत्वमा आउन समग्र महिलामा हिम्मत पैदा गर्नु पनि हो । मेरो क्षेत्रको मात्र कुरा गर्दा जिल्ला–जिल्लामा उद्योग बाणिज्य सङ्घमा मनोनित गरेर महिला ल्याउने गरिन्थ्यो । तर, उनीहरूले अहिले हामी मनोनित होइन चुनाव लडेर जान्छौं भन्नुहुन्छ । चुनावमा प्रतिसपर्धी भएर आएको अवस्था छ । महिलालाई सधँै सदस्यमा मात्र राखिन्थ्यो ।

अब सदस्यमात्र होइन पदाधिकारीमा हामी जानुपर्छ भन्दै उहाँहरू आउनुभएको छ । महिला म पनि सक्षम छु भनेर अगाडि आउनु गर्वको कुरा हो । उहाँहरूमा जागरूकताका र आत्मविश्वास आउनु भनेको एकदम सकारात्मक पक्ष हो ।

तपाइको व्यवसायको पनि कुरा गरौँ । नेपालगञ्जको आफ्नो पुख्र्यौली घरमा १० वटा कोठाबाट शुरु गरिएको होटल स्नेहाको अवस्था कस्तो छ ?
दश ओटा कोठाबाट शुरु गरेको होटेल स्नेहा अहिले ६५ ओटा कोठामा विस्तार भएको छ । अहिले चारतारे होटलका रूपमा सञ्चालन गरिरहेका छौं ।

कोरोनाको समयमा समग्र पर्यटन व्यवसायमा धक्का पुग्यो । आशा छ अब चाँडै होटल व्यवसाय पहिलाकै अवस्थामा फर्कन्छ । अहिले आन्तरिक र बाह्य पर्यटकको आगमन भइरहेको छ । यसले अब होटल व्यवसाय पनि राम्रैसँग अघि बढ्छ ।
होटलबाहेक अन्य कुन–कुन क्षेत्रमा व्यवसाय विस्तार गर्नुभएको छ ?
होटल बाहेक कृषि, स्वास्थ्य सामग्री, बीमामा पनि हाम्रो व्यवसाय छ ।
त्यसो भए अहिले पारिवार नै व्यवसायमा आवद्ध हुनुहुन्छ ?
मेरो बुवा सरकारी कर्मचारी, यता घरतिर सासुआमा पनि सांसद हुनुहुन्थयो बुवाआमाहरू स्वर्गे भइसक्नुभयो । अहिले हामी छोराछोरी सबै व्यवसायमा आवद्ध छौं ।
तपाईको बाल्यकाल कसरी वित्यो ?
बाल्यकाल मेरो सारै रमाइलोसँग वित्यो । बुवा राजधानीबाहिर भएकाले म सानैदेखि होष्टलमा नै बसेर पढे र, त्यहीँ हुर्किए । हामी दिदीबैनी दुबै सेन्टमेरिजमा पढ्यौं । छुट्टीमा घर आउथ्यौँ ।

सानोछँदा म पढाइमा भन्दा पनि अन्य क्रियाकलाप गर्ने, खेल्ने, चकचक गर्नेमा पोख्त थिए । बुवा धेरै व्यस्त हुनुहुन्थ्यो । आमाले हामीलाई सधैँ केही न केहीमा व्यस्त राख्ने गर्नुहुन्थ्यो । छुट्टीमा घर आएको बेलामा हामीलाई पौडी र सङ्गीत सिक्न पठाउनुहुन्थ्यो । बाल्यकाल रमाइलोसँग नै वित्यो ।


तपाईको दिनको शुरुवात कसरी शुरु हुन्छ ?
दिनको शुरुवात सकारात्मक सोँचबाट हुनैपर्छ । मेरो दिन आर्टअर्फ लिभिङबाट शुरु हुन्छ । सामान्य कसरत गर्छु, कसरतपछि नित्य पूजा गर्छु । यसले मलाई दिनभर शक्ति प्रदान गर्छ । त्यसपछि म अरु दैनिक काममा व्यस्त रहन्छु ।