सफल ‘ट्रेकिङ गाइड’ हीरा

0
98

 

अन्नपूर्ण ।  बिहे भएको ६ वर्ष नबित्दै पतिले सौता भित्र्यएपछि स्याङ्जा बहाकोटकी हीराकुमारी मल्लको दुःखका दिन सुरु भयो । विसं २०५७ मा विवाह बन्धनमा  गाँसिनुभएकी उहाँको एक छोरा र एक छोरी छँदै थिए । परिवार हाँसीखुसी नै थियो । जीवन सहजरुपले चल्दै थियो  तर २०६३ सालमा श्रीमान्ले अर्की श्रीमती ल्याएपछि हीरा छाँगाबाट खसेझैँ हुनुभयो ।

त्यस दिनपछि उहाँको मनमा सन्तोषले ठाउँ लिएन । “चटक्कै छाडेर अन्त कतै बस्ने झोक नचलेको होइन,” हीराले भन्नुभयो, “साना लालाबाला थिए  र काखेबच्चाका लागि आमाको माया सम्झिएँ ।”  जे भयो भयो अब मिलेर बसौँ भन्ने उहाँको प्रस्ताव ठाडै अस्वीकार भयो । “छोराछोरीको भविष्य हेरेर मिलेर बसौं पनि भनेकी हुँ,” उहाँले विगत सम्झनुभयो, “अर्कीले उल्टै कति पैसा चाहिएको हो, बिटा फाल्दिन्छु भन्दै धम्की दिई ।”

पतिको हेला र कान्छीको रुखो वचन सहीसाध्य भएन । अन्त्यमा हिराले सम्बन्धविच्छेद रोज्नुभयो । अदालतको फैसलामा छोराछोरी आफूसँग राख्ने तथा पालनपोषण, शिक्षा, स्वास्थ्यमा लाग्ने खर्च बाबुले नै ब्यहोर्ने भन्ने थियो तर सम्बन्धविच्छेदको दिनदेखि श्रीमान्ले वास्ता गर्न छाडेको उहाँले बताउनुभयो ।

सोही वर्ष हीरा पोखरा आउनुभयो । अनेक समस्यासँग सङ्घर्ष गर्दै हीराले ‘ट्रेकिङ गाइड’ को काम सुरु गर्नुभयो । सुरुमै ट्रेकिङ रुट अन्नपूर्ण आधार शिविरसम्म प¥यो । बाटोमा भेटिने प्राकृतिक छटाले विगतको दुःख भुलाउँदै गयो । मन रौनक पनि भयोे ।

उहाँ जोमसोम मुक्तिनाथ, मर्दी आधार शिविर, धम्पुस जताततै पुग्नुभयो । बिस्तारै आम्दानी पनि राम्रै हँुदै गयो । कमाईले आफूसहित छोराछोरीको लालनपालनमा टेवा मिल्यो । अनुहारमा नयाँ कान्ति छायो । अब केही गर्न सक्छु भन्ने आँट पलाउन थाल्यो । आफू ट्रेकिङमा हिँड्दा बुहारी र बहिनीले छोराछोरी हेरिदिने  थिए ।

अहिले ४५ वर्ष पुग्नुभएकी हीराले ३२ वर्षको उमेरदेखि नै ट्रेकिङको काम थाल्नुभएको थियो । त्यसबीचमा २०७२ सालको भूकम्पका कारण केही महिना काम पाइएको थिएन तर त्यसयता भने  खाली बस्नु परेको छैन । कोरोनापछिको लकडाउनमा केही समस्या भए पनि बचाएर राखेको पैसाले जीवन धानिएको उहाँले बताउनुभयो ।

हक्की स्वभाव, आँटिली अनि इमान्दारिताले नै उहाँले २०७७ सालमा मुस्ताङको छ हजार १२ मिटर उचाइको धम्पुस पिक आरोहण गर्नुभएको थियो । यसैबेला  नेपाल पर्वतारोहण सङ्घको आयोजनामा भएको ‘टे«किङ गाइड’ ले अझै अब्बल महसुस गराएको हीराले बताउनुभयो । हीरा जब जब धम्पुस पिकको चुचुरोमा पुग्नुभयो, उहाँको मन चङ्गा भयो ।

“सबैभन्दा पहिला आमा सम्झिएँ,” सफल अरोहणको क्षण सम्झँदै हीराले भन्नुभयो, “छोराछोरी र आफन्त सम्झिएँ ।” हिमालको चुचुरोमा पुगेपछि बाटोमा भोगेका कठिनाइमात्र नभई श्रीमान्ले अर्को श्रीमती ल्याएपछि पाएको दुःखसमेत भुलेको उहाँले बताउनुभयो ।

“हिमाल चढ्नु मेरो पहिलादेखिकै इच्छा थियो, चढेँ,” हीराले भन्नुभयो, “अब जस्तोसुकै हन्डर परे पनि सहन्छु अनि मेरो एकल जीवन जसरी भए पनि चलाउछु भन्ने साहस पलाएको छ ।”

ट्रेकिङ गाइडमा लागेर दुःख बिर्सन सिकाएको हीराले बताउनुभयो । आगामी दिनमा योसँगै हिमाल चढ्नेहरुको सहयोगी बन्ने उहाँको योजना छ । “हिजोआज मलाई दुःख केही होजस्तो लाग्दैन । श्रीमान् साथमा नभए पनि एक्लै जिउन सक्छु भन्ने लागेको छ,” हिराले भन्नुभयो, “विगत भुलेर टे«किङमा रमाउने अनि मिल्यो भने हिमाल चढ्नेहरुको सहयोगी वा गाइड बन्ने रहर छ ।”