सेन्सर बोर्डले ‘परस्त्री’ प्रदर्शनमा रोक लगाएपछि अभिनेत्री शिल्पाले मुख खोलिन्

0
209

काठमाडौं । चलचित्र ‘परस्त्री’ लाई सेन्सर बोर्डले प्रदर्शनमा अनुमति नदिएपछि निर्माता र बोर्डको भनाई बाझिएको छ । सेन्सर बोर्डले यो चलचित्रमा समावेश भएको चुम्बन, बेडसिन र हिंसाका लामा दृष्य समाजका लागि पाच्य र मर्यादित नहुने भन्दै प्रदर्शनमा रोक लगाएको बताएको छ ।

यता निर्माता पक्ष भने ती दृष्य विना चलचित्रको अन्तरवस्तु नै नष्ट हुने बताउँदै आएको छ । यो विवादमा अहिले अभिनेत्री शिल्पा मास्केले भने आफ्नो कुरा राख्नु भएको छ ।

नेपाली फिल्मका यस्ता दृश्यमा कैंची चलाइने हो भने हलिउड र बलिउड फिल्मबाट समेत यस्ता दृश्य कटौती गर्नुपर्ने उहाँको भनाइ छ । ‘हामीले हलमा डेड एभिलजस्ता अंग्रेजी फिल्म चलाएको देखिरहेका छौं ।

ती फिल्मलाई बच्चाले पनि हेरेको देखिएको छ,’ उहभाँले भन्नु भयो, ‘किन विदेशी फिल्ममा यस्तो नियम लागू हुँदैन र ?’

उहाँले विदेशी फिल्मप्रति सेन्सर बोर्डले साँधेको मौनताप्रति आपत्ति समेत जनाउनु भएको छ । ‘अवश्य पनि परस्त्रीमा हिंसाका लामा दृश्य छन् । बेडसिन र किस सिन पनि छन् ।

तर यी दृश्य काटेर एडल्ट प्रमाणपत्र दिन्छु भन्नु गलत हो,’ उहाँ भन्नुहुन्छ, ‘यसमा त्यस्तो भल्गर केही छैन । हामीले स्क्रिप्टमा आधारित भएर काम गरेको हो । काटमारको सिनमा आपत्ति जनाउन सकिन्छ । तर सिन काटेर दियो भने मतलब हुँदैन ।’
यी दृश्यमा कैंची चलाउँदा फिल्मको कला पक्षलाई मर्का पर्ने शिल्पाले बताउनु भयो ।

‘यो फिक्सनल क्यारेक्टर हो । यसको कथा पनि हामीले समाजबाटै लिएका हौं । टिकटकमा परिवारै मारेको न्युज र दृश्य पनि आइरहेका हुन्छन् । यो इन्टरटेनमेन्ट हो । फिल्मलाई फिल्मकै रुपमा बुझ्नुपर्छ । वास्तविक कथावस्तुमा आधारित होइन,’ उहाँ बताउनु हुन्छ ।

असार १५ गते प्रदर्शनको तयारीमा रहेको फिल्मलाई सेन्सरले रोकेपछि निर्माताले आज बोर्डका पदाधिकारीसँग छलफल गर्दैछन् ।