सौन्दर्य व्यवसायी कमलाको व्यवसायिक यात्रा : ‘एउटा सानो कोठादेखि सफलताको शिखरसम्म’

0
249

काठमाडौं । सौन्दर्य व्यवसायी कमला श्रेष्ठ आफ्नो व्यवसायिक करियरको ‘गोल्डेन जुविली’ नजिक हुनुहुन्छ । नेपालमा व्यवसायिक करियरमा गोल्डेन जुविली मनाउने महिला एक जना पनि हुनुहुन्न भन्दा अतिशयोक्ति नहोला । सौन्दर्य व्यवसायमा कमलाको करिब ४५ वर्षको लामो अनुभव छ ।

२०३६ सालमा कमलाले ललितपुरको पाटनमा सानो कोठामा पार्लर खोल्दा धेरैले जिब्रो टोकेका थिए । उहाँका ससुराले हजामको काम गर्ने भन्दै दुई महिनासम्म कमलाले छोएको पानी समेत पिउनु भएन् ।

खान्दानी परिवारमा हुर्किएकी कमलाले यहि पेशा अपनाउनु पर्छ भन्ने थिएन तर, उहाँको भित्री इच्छा सौन्दर्य कलामा रमाउनु थियो । श्रीमान् बन बिभागका अधिकृत उहाँ यूएनको जागिरे भएर थाइलाण्ड जानु भयो । कमला पनि आफ्ना तीन र डेढ बर्षीया छोरा च्यापेर उहाँसँगै थाइल्याण्ड जानुभयो ।

थाइल्याण्डको बसाइक्रममा कमलालाई कुनै किसिमको असुविधा थिएन । तर, पनि उहाँले फूर्सदको समयलाई सदुपयोग गर्दै सौन्दर्य सम्बन्धि दुई वर्षे अध्ययन पूरा गर्नु भयो । त्यही सौन्दर्य श्रृङ्गारले उहाँलाई आज नाम, दाम, प्रतिष्ठा मात्र दिएको छैन्, हजारौं सौन्दर्य व्यवसायीका लागि अडिलो, दरिलो र नटुट्ने अभिभावकत्वको जिम्मेवारी पनि सुम्पिएको छ ।

समाजमा कुनै पनि कुराको हुबहु गर्ने हजारौँ भेटिन्छन् तर, कसैले नगरेको काम गर्नेको नाम इतिहासको पानामा लेखिन्छ । तिनै इतिहासको पानामा लेखिने गरी कमलाले आफूलाई स्थापित गर्नु भएको छ ।

‘नेपाल आएपछि मैले पार्लर नै खोलेर बस्नु पर्ने थिएन । परिवारमा कोही पनि यो व्यवसायमा थिएनन् । तर, मेरो मनले सधैँ भन्ने गर्‍थ्यो । बाँच्नु त बाँच्नु आफ्नो पौरखमा, छुट्टै पहिचान सहित स्वाभिमानका साथ बाँच्नु । सायद ‘यहि दृढ इच्छाले मैले यो व्यवसाय रोजेकी थिए,’ उहाँ भन्नुहुन्छ ।

कमलाले सर्वसाधरणका लागि पार्लर खोल्दा राजदरबारका महिलाका लागि तारे होटलमा बाहेक उपत्यकाका अन्य ठाउँमा पार्लर थिएनन् ।

६४ वर्षीया कमलाको दैनिकी पनि निकै लोभलाग्दो छ । यो उमेरमा उहाँको सक्रियता देख्दा नतमस्तक नहुने कोही छैनन् । लाग्छ उहाँ जीवनको उत्तरार्धमा होइन् सोह्र वर्षे जवानीमा हुनुहुन्छ । सामान्य बोलिचालीको भाषामा भन्दा उहाँ अझैँ पनि नयाँ पुस्तासँग सँगसँगै भिडिनै रहनु भएको छ ।

सौन्दर्यकला, उद्योग बाणिज्य महासंघ, शायम स्कुल, ब्यूटी सैलुन, लगायत आधा दर्जन व्यवसाय तथा सामाजिक कार्य, देश विदेश भ्रमण तथा पार्लरमा आएका ग्राहकको सेवामा उहाँ दिनरात तल्लीन रहनुहन्छ ।

सबै कुराले पूर्ण कमलालाई यो उमेरमा यो व्यस्तता र सक्रियता के–का लागि ? नारी नेपालको प्रश्नमा उहाँ भन्नुहुन्छ ‘व्यस्त छु र पो स्वस्थ छु, (मुस्कुराउँदै) । व्यवसाय प्रतिको मेरो लगन, अनुशासन, विशेषगरी अरूले दिएको आशिर्वादले नै आजको मेरो सफलता हो । फेरी म श्रमको पूजा गर्छु न कि अरू भौतिक सुखको । जुन दिनसम्म बाँच्छु सक्रिय भएर बाँच्ने इच्छा छ साथै, यो समयको व्यवस्थापन पनि हो ।’

तर, कमलाको अन्तरकथा यति मात्रै होइन । कमलाको निकै ठूलो संघर्ष र तपस्याले आज यो स्थान प्राप्त भएको छ । ४५ वर्ष अघि यो व्यवसाय शुरू गर्दा १० हजार लगानीमा १०÷१० को कोठामा शुरू गर्नु भएको थियो । ‘शुरूमा महिलाहरू पार्लरमा पस्नै हिचकिचाउँथे,’ उहाँले सुनाउनु भयो । ‘पहिलो महिना बल्लतल्ल ८० रूपैयाँ कमियो ।’

कमलाले पार्लर शुरू गर्दा चाहिने कष्मेटिक, फर्निचर तथा औजारलगायतका कुनै पनि सामान नेपालमा पाइदैनथे । उहाँले बैंककबाटै सामान मगाएर व्यवसायको शुरू गर्नु भएको थियो । ‘त्यो वेला सर्वसाधरण महिला पार्लर जानुलाई उत्ताउलोको संज्ञा दिइन्थ्यो,’ कमला भन्नुहुन्छ ।

शरूका दिनमा कमलालाई ग्राहक भेट्टाउन निकै मुस्किल भयो । तर, कमलाले हार मान्नु भएन आफ्नो कामलाई निरन्तरता दिइनै रहनु भयो । बिस्तारै उहाँको पार्लरमा राणा तथा सम्भ्रान्त परिवारका महिलाहरू छिर्न थाले ।

कमलाको काम र सरल व्यवहारले ग्राहक बटुल्न धेरै समय लागेन । त्यो बेला पर्म (कपाल घुमार्ने), कर्ट, मेनिकियर, फेसियल, हलुका मेकअप र साधरण दुलही श्रृङगार सम्भ्रान्त परिवारमा खुब चलेको कमलाको भनाइ छ ।

०००
२०४२ सालमा नेपाल टेलिभिजन आएपछि कमलाको कामले थप गति लियो । ‘नेपालमा टेलिभिजन आयो रे भन्थे । टेलिभिजनका लागि एन्टिना राखेको घर देख्दा दरवार जस्तो लाग्थ्यो,’ उहाँ भन्नुहुन्छ ।

त्यहीँ बेलामा मलाई टेलिभिजनमा ‘घरपरिवार’ भन्ने कार्यक्रम चलाउन अफर आयो । मैले हुन्छ भने । ‘कार्यक्रम त गर्ने तर, कसरी गर्ने ? सिकाउने कोही छैन् । सुटिङ गर्नुहुने दाई/भाई कोही पनि पर्फेक्ट हुनुहुन्न । सबै नयाँ । कपाल तिर खिच्नु पर्ने मेकपमा क्यामरा पुग्थ्यो ।

फेरी क्यामारा मेनलाई भन्यो यो भएन अर्को खिच्नुहोस् । उफ ! ती दिन ! सम्झदा पनि हासो लाग्छ,’ कमला सुनाउनु हुन्छ । कमलाले लगभग १५/१६ ओटा विभिन्न टेलिभिजन च्यानलहरूमा कार्यक्रम सञ्चालन गर्नु भयो ।

भ्याली भित्रमात्रै उहाँको कामको प्रशंसा भइरहेकोमा अब टेलिभिजनमार्फत उहाँको काम देश विदेशसम्म पुग्यो । यसले कमलाको सफलता अझ चुलिदैँ गयो । सौन्दर्य सामग्रीका व्यवसायीलाई पनि कमलाले काठमाडौंमा स्थापित गर्न निकै ठूलो भूमिका निर्वाह गर्नु भएको छ ।

टेलिभिजन कार्यक्रममा कमलाले विभिन्न प्रकारका सौन्दर्य सामग्रीको प्रयोग गर्ने भएकाले ती सामान नेपाली बजारमा सर्वसाधरणले खोज्न थालेपछि व्यवसायी पनि सौन्दर्य व्यवसाय विस्तार गर्न लागे । उहाँले व्यवसायीलाई पनि स्थापित गर्न सहयोग गर्नु भयो ।

०००
कमलाको निरन्तर मिहिनेतको प्रतिफलले व्यवसाय उत्कर्षमा पुगिरहेकै थियो । अचानक उहाँको जीवनमा बज्रपात पर्‍यो । उहाँका दुई छोरा मध्ये कान्छो छोरा १७ वर्षको उमेरमा बाइक दुर्घटनामा परी बित्नु भयो । त्यत्रो बज्रपातलाई सहँदै उहाँ १५ दिनमा पार्लर आउनु भयो, व्यवसाय धान्नु भयो ।

‘मानिसलाई व्यस्त राख्नु पर्छ । जीवनमा अनेक कथा र व्यथा हुन्छन् तर, आफूलाई व्यस्त राखियो भने जीवन बाँच्छ । साथै, समय जस्तो बलवान् केही होइन रहेछ । समयले मलमपट्टी लगायो,’ उहाँ भन्नुहुन्छ ।

उद्योग बाणिज्य महासंघको यात्रा
कमलाले सौन्दर्य व्यवसायमा पिलरको काम गरिसक्नु भएको थियो । हजारौंका संख्यामा पार्लर खुले । अब यसको छाता संघठनको आवश्यक्ता महशुस गरियो । कमलाको नेतृत्वमा २०६४ सालमा सौन्दर्य कला व्यवसायी संघको स्थपना भयो । अहिले यो संघ ६० ओटा जिल्लामा फैलिएको छ ।

यो संघको माध्यमद्धारा कमलाको यात्रा महासंघमा भयो । उद्योग बाणिज्य महासंघमा संलग्न हुन त्यति सजिलो छैन् । तर, कमलाले सौन्दर्य व्यवसायी संघ नेपाललाई उद्योग बाणिज्य महासंघमा आवद्ध गराइ छाड्नु भयो । यसमा महासंघ आफैले पनि सहजीकरण गर्‍यो ।

सौन्दर्य कलाको प्रतिनिधित्व गर्दै वस्तुगत संघ सदस्यका लागि उहाँले माहासंघमा उम्मेदवारी दिनु भयो । वस्तुसंघबाट उहाँ चारपटकसम्म निर्वाचित भइ इतिहास रच्नु भएको छ । ‘एक साधारण सौन्दर्य व्यवसायी महासंघमा पुग्नु भनेको नेपाली महिलाका लागि मात्र नभइ यो देशकै निकै ठूलो उपलब्धी हो, ।’ उहाँ भन्नुहुन्छ ।

अहिले उहाँ महासंघमा महिला उद्यमी समितिको सभापतिको जिम्मेवारीमा क्रियाशील हुनुहुन्छ । महासंघमा रहँदै गर्दा उहाँले सौन्दर्य व्यवसायीका लागि थुप्रै काम पनि गर्नु भएको छ । सरकारले सौन्दर्य व्यवसायलाई विलसिताको व्यवसायमा राख्दै अनिवार्य भ्याट कर लगायो ।

त्यसको उहाँले विरोध गर्दै कर हटाउन सरकारलाई बाध्य बनाउनु भयो । अहिले उहाँको नेतृत्वमा सौन्दर्य व्यवसायले सेवा उद्योगका रूपमा मान्यता पाएको छ । कमला एउटा कुरामा सफलता प्राप्त गरेपछि त्यसैमा सन्तुष्ट भएर बस्ने व्यवसायीमा पर्नुहुन्न ।

आठ वर्षको निरन्तर प्रयासबाट उहाँले कक्षा नौं देखि १२ सम्मका विद्यार्थीका लागि ऐच्छिक विषयमा ‘सौन्दर्य शास्त्र’ समावेश गराएरै छाड्नु भयो । ‘यो निकै ठूलो उपलब्धी हो । सौन्दर्य शास्त्र सिकेका विद्यार्थीले बेरोजगार बस्नु पर्दैन,’ उहाँ भन्नुहुन्छ ।

अहिले विभिन्न सामुदायिक विद्यालयमा ‘सौन्दर्य शास्त्र’ सम्बन्धि पढाइ हुँदै आएको छ । उहाँ यसलाई स्नाकोत्तरसम्म पुर्‍याउने अठोटमा हुनुहुन्छ ।

आउँदै कमलाको आफ्नै प्रोडक्ट
कमलालो आफ्नै नाम कमला श्रेष्ठ के.एस. ब्राण्डमा चितवनमा नेपालकै जडिबुटी प्रयोग गरेर हर्वल सौन्दर्य सामग्री उत्पादनको गर्दै हुनुहुन्छ ।

के. एस. प्रोडक्टमा आउन लागेको ब्यूटिप्रोडक्टमा नेपाली ब्राण्डको स्वदेशी उत्पादनलाई प्रवद्धन गर्ने उदेश्य रहेको छ । विशेषगरी अनुहारका लागि बनाइएको यसका १२ ओटा उत्पान ट्रायलका रूपमा आउँदैछन् ।

परिवारको साथ

आज व्यक्तिगत र व्यवसायिक जीवनमा जे जति प्राप्त गर्नु भएको त्यसको श्रेय परिवारलाई पनि उत्तिकै जाने उहाँ बताउँनुहुन्छ कमला । जति सुकै विचलित हुँदा पनि श्रीमान्को साथ, सहयोग, सल्लाह, सुझाव तथा हौसला सधैँ मिलिरह्यो ।

साथै, छोरा, बुहारी नाती नातिना हाल अमेरिकामा बसेर पनि कमलाको व्यवसायलाई अगाडि लैजान ठूलो भूमिका निर्वाह गरिरहेको कमलाको भनाइ छ । साथै, उहाँले भदैलाई छोरी पनि बनाउनु भएको छ । उहाँले पनि कमलालाई भरपूर साथ सहयोग गर्नु भएको छ ।

सम्मानको चाङ
साइम इन्स्टिच्युटको माथिल्लो तलाको प्रत्येक भित्तामा झुण्डिएका विभूषण, प्रसंशा पत्र, पदक, कदर र उपहारले उहाँ कति सफल व्यक्तित्व हुनुहुन्छ भन्ने कुरा स्पष्ट पार्छ । तत्कालीन राजकुमार पारस शाह, हिमानी शाह, राष्ट्रपति तथा प्रधानमन्त्रीहरूदेखि सर्वसाधरणसम्मका सम्मानले भरिएका छन् उहाँका कोठा ।

काम गर्दाको तीतो मिठो अनुभव
पार्लर चलाउनु सहज पेशा होइन् । ग्राहकको चित्त बुझाउनेदेखि दिनभर उभिएर काम गर्नु, धेरै नै गाह्रो काम हो । तर, कमलाले विहान चार बजेदेखि बेलुका १० बजेसम्म निरन्तर काम गर्नु भएको छ । यो कार्य अहिलेसम्मै चलिरहेको छ ।
३० वर्ष अघिको एक घटना सुनाउनु हुन्छ कमला ।

  • कमलाले दुलहीलाई श्रृङ्गारका लागि विहान चार बजे बोलाउनु भयो । दुलही ठिक चार बजे पार्लर आइन । तर, राती सद्दे सुत्नु भएको कमला विहान उठ्दा घाटी यता–उता चलेन । ‘पार्लरमा दुलही आएको छ, काम गर्ने कोही छैनन् । अरू पार्लर कतै छैनन् । दुलही मेरो अवस्था देखेर रून थालिन मलाई कसले श्रृङ्गार्छ भनेर ।
  •  टाउको मात्र यता–उता गर्न नमिलेको होइन दुखाइ सहनै नसक्ने किसिमको थियो । जसो–तसो दुलहीलाई चार घण्टा लगाएर तर–तरी आशु झार्दै श्रृङ्गारी दिए । मेरो अवस्था देखेर दुलहीले जानेबेलामा अंगालो हालेर म आजको काम र हजुरलाई कहिल्यै बिर्सन्न भन्नु भयो,’ उहाँ भन्नुहुन्छ ।
  •  घाटीका सातवटा हड्डी खिएको रहेछ । डाक्टरले कमलालाई पार्लरको काम गर्न निषेध गरे । तर, कमलालाई यो मन्जुर थिएन । ‘काम बन्द हैन् डाक्टरसाब मलाई थेरापी सिकाउनुहोस् ।

मेरो हड्डी खिएर जाँला तर काम छोड्दिन,’उहाँले डाक्टरलाई भन्नुभयो । दुई महिनासम्म थेरापी गरेपछि कमलाको स्वास्थ्यमा केही सुधार आयो । र उहाँले काम्रो बाँधेर पार्लर आउन थाल्नुभयो । पछि बिस्तारै घाटीको रोग निको भयो ।

  •  कमलाले पार्लरमा अनेक केमिकल चलाउनु पर्ने । केमिकलले उहाँमा खोकीको एलर्जी ल्यायो । उहाँले नेपालका नामी अस्पताल सबै चाहर्दा पनि रोग पत्ता लागेन ।

दिल्ली गएर जचाउँदा केमिकलको एलर्जी भएको पत्ता लाग्यो । बोल्न सास फेर्न गाह्रो भएपछि उहाँले विद्यार्थीलाई पढाउन धेरै मुस्किल पर्‍यो । डाक्टरले उहाँलाई भ्वाइस रेष्ट भन्यो । इसाराले उहाँले विद्यार्थीलाई धेरै दिन पढाउनु भयो । अमेरिकाबाट छोराले औषधी ल्याएर खुवाएपछि बल्ल उहाँको खोकी ठिक भयो ।

  • ‘नछुने हने महिनाको दुई पटक, अत्यन्त पेट दुख्ने । ब्लिडिङ असाध्यै हुने । कुनैकुनै बेला बिहोस पनि हुने । दिल्लीमा गएर जँचाए । पाठेघर सुनिएर फुट्ने बेला भएको रहेछ । तुरून्त अप्रेशन गर्नु पर्ने रहेछ । नेपालमा नै अप्रेशन गर्ने भनेर आए ।

यहाँ पाटन अस्पतालमा अप्रेशन गरे । तर पनि मैले पेशा छाडिन,’ उहाँ भन्नुहुन्छ । काम गर्दा गर्दै फुर्सद नभएर खाली पेट भएकाले ग्यास्ट्रिक भयो । ‘दुई वर्षसम्म उमालेको खाना खानु पर्‍यो । तर, पनि पेशा छोड्ने विचार आएन ।’

  •  एक ग्राहकले कमलाको पार्लरमा पहिल्यै समय लिनु भएको थियो । उहाँ भनेकै समयमा पार्लर आउनु भयो तर कमला पार्लर आउन पाँच/दश मिनेट ढिलो भयो । पार्लरबाट फोन गएपछि खाँदै गरेको गाँस छोडेर कमला पार्लर आउनु भयोे तर कमला आइनपुग्दै ग्राहक फर्किएर आफ्नो गाडीमा बसिसक्नु भएको थियो ।

‘मैले दश अम्ला जोडेर गाडीमा बसेको क्लाइन्टलाई ल्याएर समय भन्दा अघि काम सकेर पठाए,’ उहाँ भन्नुहुन्छ । ‘यसबाट मैले ठूलो पाठ सिके । कुनै पनि काममा समयको व्यवस्थापन र महत्वलाई कसरी ध्यान दिनु पर्ने रहेछ भन्ने कुराको निकै ठूलो पाठ भयो ।’

  •  एक दिन एकजना पनि मानिस पार्लर पसेनन् । कमलालाई अचम्म लाग्यो । के भयो ? त्यत्रो भिड लाग्ने पार्लरमा चरो मुसो छिर्दैन । अचम्म लागेर गेटमा गएर हेर्दा छोराहरूले ‘टुडे सैलुन इज क्लोज्ड’ भनेर टासेका रहेछन् ।

उनीहरू बुढानिलकण्ठमा होष्टलमा बसेर पढ्थे विदामा आएको बेलामा मैले समय दिन नसकेकाले उनीहरूले यसो गरेका रहेछन् । भित्र पसेर म सारै रोए । ओ हो ! कस्तो पो गरेकी रहेछु । बच्चासँग माफी मागे ।
‘मेरो व्यक्तिगत, परिवार, समाजिक जीवन त केही पनि रहेनछ । त्याग तपस्या, सबै सेवा रहेछ । मलाई अनुभवले धेरै कुरा सिकायो,’ उहाँ भन्नुहुन्छ ।