अभिव्यक्ति स्वतन्त्रता छ भन्दैमा जसले जे पनि बोल्न पाइदैन् : सञ्चार मन्त्री शर्मा

0
68

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लोकतन्त्रिक मुलुकका लागि अभिव्यक्ति स्वतन्त्रता सबैभन्दा महत्वपूर्ण भएपनि जसले जे पनि बोल्न र लेख्न भने नपाइने बताउनु भएको छ ।

उहाँले सामाजिक सञ्जाललाई व्यवस्थित गर्नका लागि तत्काल ऐन ल्याउन नसके पनि नियमावली वा निर्देशिकामार्फत व्यवस्थित गर्न लागेको समेत जानकारी दिनु भयो । साथै, उहाँले सञ्चार मन्त्रालयमा स्वार्थ समूहको हाबी हुँदा कानून बनाउन समस्या भएको बताउनु भएको छ ।

बिहीबार मिडिया एड्भोकेसी ग्रुपले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

‘कुनै पनि ऐन कानून बनाउनका लागि छलफल मात्र गरिए पनि बाहिर अर्कै सूचना पुगिसकेको हुने र यो सबै स्वार्थ समूहकै जोडबलमा हुने गरेको उहाँको भनाइ थियो । साइबर ऐन तथा सूचनासम्बन्धी विधेयक बनाउन विभिन्न स्वार्थ समूहको कारण अहिलेसम्म टुङ्गो लाग्न नसकेको उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयमा कुनै एउटा विषयमा कानून बनाउन छलफल सुरू हुनेबित्तिकै विधेयकको सानो अंक बाहिर झिकेर कानूनको अपव्याख्या सुरू गरेको शर्माको भनाइ थियो । कानूनको अपव्याख्याकै कारण मन्त्रालयमा बसेर कानून बनाउन नसक्ने अवस्था समेत आएको उहाँको भनाइ थियो ।

सामाजिक सञ्जाल प्रयोगलाई नियमनका लागि निर्देशिका तयार पार्न मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीको संयोजकत्वमा ११ सदस्यीस समिति गठन भइसकेको छ । उक्त समितिले सरोकारवाला निकायसँग छलफल जारी राखेको सुवेदीले कार्यक्रममा जानकारी दिनुभयो ।

यसैगरी, कार्यक्रममा कार्यक्रमकी अध्यक्ष बविता बस्नेतले डिजिटल हिंसा डिजिटल हिंसा, यसको नीति चुनौती र समाधानका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

यसैगरी कार्यक्रममा पूर्व डिआईजी डा. राजिव सुब्बाले सामाजिक सञ्जालमा भएका हिंसालाई स्वंम नियम लगाएर नियन्त्रण गर्नुको विकल्प नभएको बताउनु भयो । यसैगरी, कार्यक्रममा उपस्थित विभिन्न वक्ता तथा सरोकारवालाले समाजिक सञ्जाललाई कसरी व्यवस्थित गर्दै सामाजिक सञ्जालबाट हुने कुनै पनि प्रकारका हिंसालाई रोक्न सकिन्छ भन्ने विषयमा आफ्ना धारणा प्रस्तुत गर्नु भएको थियो ।