स्वास्थ्य स्वयंसेविकाहरूलाई अपाङ्गता समानता तालीम प्रदान

0
38

काठमाडौं । राष्ट्रिय शारीरिक अपाङ्ग संघ–नेपालको आयोजनामा अपाङ्गता समानता तालीम र अनुशिक्षण कार्यक्रम ललितपुरमा सम्पन्न भएको छ । ललितपुर महानगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई अपाङ्गता सम्बन्धी विषयमा जानकारी होस् भन्ने उद्धेश्यले सो तालीम प्रदान गरिएको हो ।

महिला स्वास्थ्य स्वयंसेविकाहरू आफ्नो समुदायको घरघरमा पुगेर स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएकाले उहाँहरूलाई यसप्रकारको तालीम प्रदान गरिएको हो। तालीममा अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालका महासचिव रमा ढकालले अपाङ्गताको परिचय र अपाङ्गताका प्रकारहरूका बारेमा जानकारी गराउँनुभयो ।

यसैगरी राष्ट्रिय शारीरिक अपाङ्ग संघ–नेपालका अध्यक्ष किरण शिल्पकारले सहभागिहरूलाई अपाङ्गता समानता तालीम/अनुशिक्षण प्रदान गर्नुभयो । तालीममा उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई परिवार, समुदाय तथा विभिन्न पक्षले हेर्ने दृष्टिकोण तथा गर्ने व्यवहारमा विभेद रहेको बताउँनु भयो ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धीमा उल्लेख भए अनुसार उहाँहरूलाई कसरी आत्मसम्मानपूर्वक व्यवहार गर्ने तथा के कसरी व्यक्ति, परिवार तथा समाजले उनीहरूलाई सहयोग गर्न सक्छ भन्ने विषयमा विभिन्न चित्रहरू तथा भिडियोहरू मार्फत स्पष्ट पार्नुभयो ।

तालीममा ललितपुर महानगरपालिका जनस्वास्थ्य निरिक्षक डिल्ली शेर केसीले अपाङ्गता समानता तालीम/अनुशिक्षणले अपाङ्गता सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गर्न सफल रहेको बताउँनु भयो । साथै, ललितपुर महानगरपालिकाले २९ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई यस प्रकारको तालीम प्रदान गर्ने प्रतिवद्धता समेत व्यत्तः गर्नुभयो ।

तालीममा उपस्थित ललितपुर महानगरपालिका २६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूले तालीममार्फत अपाङ्गता बारेमा स्पष्ट रूपमा बुझ्न पाएकोमा खुसी व्यक्त गर्नु भयो ।

यसका साथै उहाँहरूले अबका दिनमा आफूहरूले समुदायमा अपाङ्गता सम्बन्धि जनचेतना फैलाउने, समुदायका व्यक्तिहरूले अपाङ्गता भएका व्यक्तिहरू प्रति गर्ने नकारात्मक व्यवहारमा परिवर्तन ल्याउन भूमिका खेल्ने बताउनु भयो । साथै, आफ्नो कार्यालय र कार्यक्षेत्रमा पनि आफूले यस तालीममा सिकेका कुराहरू लागू गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।