हर्षोल्लासका साथ मनाइयो “प्राईड सोसल इभेन्ट २०२३”

0
405

काठमााडौं । मितिनी नेपालको आयोजनामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले हर्षोल्लासका साथ विभिन्न कार्यक्रम गरी आज “प्राईड सोसल इभेन्ट २०२३” काठमाडौंमा मनाएको छ ।

यौनिक तथा लैंगिक समुदाय माथि हुने हिंसा, विभेदलाई अन्त्य गर्नका लागि जुन महिनालाई गौरवका साथ मनाईदैँ आइएको छ ।

कार्यक्रममा बोल्दै मितिनी नेपालकी निर्देशक सरिता केसीले जुन महिना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिका लागि विशेष महिना भएको बताउँनु भयो ।

सन् १९६९ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमाथि भएको मानव अधिकार हनन्को सम्झनामा जुन महिनामा विभिन्न कार्यक्रम गरी मनाउने गरेको उहाँको भनाइ थियो । ‘हामी पनि यसै संसारका मानव सदस्य हौं । हाम्रो आफ्नै पहिचान र स्वभिमानका साथ विभेद रहित जीवन जिउँन चाहन्छौं’, उहाँले भन्नुभयो ।

साथै, मानव अधिकार सम्बन्धि विश्वव्यापी घोषणापत्रको धारा १ ले सबै मानव जातिको जन्म स्वतन्त्र रुपमा भएको र सबैको सम्मानपुर्वक मर्यादित जीवन जिउन पाउने अधिकारलाई सुनिश्चित गरे पनि यौनिक तथा लैंगिक समुदायका व्यक्तिलाई अहिले पनि विभेद गरिएको उहाँको अनुभव छ ।

यस्तै, कार्यक्रममा मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलानले यो हाम्रो खुसीको साँझ भन्दै सबैलाई हौसला प्रदान गर्नु भएको थियो ।

यस्तै, कानून व्यवसायी सविन श्रेष्ठले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विवाह अधिकारका लागि सर्वोच्चमा मुद्धा हालिएको जानकारी दिनु भयो ।

उहाँले आगामी जुनमा प्राईड सोसल इभेन्ट गर्दासम्ममा सर्वोच्च अदालतले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पक्षमा फैसला गर्ने आशा व्यक्त गर्नु भयो । संविधानमा प्रत्येक नागरिकले आत्मसम्मानका साथ बाँच्न पाउने अधिकार सुनिश्चित गरिएपनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आफ्नु खुसीले विवाह गर्न किन नपाउँने भन्दै उहाँले प्रश्न समेत गर्नु भयो ।

यस्तै नायिका सुभेक्षा थापाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको जीवनमा आधारित ‘ओभर द मुन’ अर्को जुनी चलचित्र प्रदर्शनको तयारीमा रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा ड्रयाग सो, नृत्य तथा गीत प्रस्तुति, स्ट्यान्ड अप कमेडी, नाटक र ह्युमन लाइब्रेरी लगाय तकुराहरू समावेश गरिएको थियो । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विषयवस्तुमा आधारित ‘टोपी’ नाटकले दर्शकको मन छोएको थियो ।

साथै उक्त कार्यक्रममा युएन एजेन्सी, दुतावास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज, सहयोगी समुह, सरकारी सरोकारवालाहरू, कलाकार लगायत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरू गरी लगभग ४०० जनाको वृहत सहभागिता रहेको थियो ।