हातमा सीप, काँधमा मेशिन बोकेकी कालिकोटकी मधु आज करोडौँकी व्यवसायी

0
784

काठमाडौं । कर्णाली आफैँमा भौगोलिक र विकासका हिसावले पिछडिएको प्रदेश । यहाँका अधिकाशं मानिस गरिबीको रेखा मुनी छन् । आर्थिक, सामाजिक र राजनैतिक हिसावले समेत पिछडिएको कर्णालीका अधिकांश जिल्ला विकट नै छन् ।

ती विकट जिल्ला मध्येको एक जिल्ला हो कालिकोट । कालिकोटका महिलाको स्थिति अझ नाजुक छ । आर्थिक उपार्जनमा महिला पछाडि नै छन् । यसै भूमिमा जन्मिएकी मधु शाही भने अब्बल व्यवसायीमा दरिदैँ हुनुहुन्छ ।

कर्णाली प्रदेशमा औंलामा गन्न सकिने मात्र महिला उद्यमी हुनुहुन्छ । मधु तिनै औंलामा गन्न सकिने मध्येकी एक सफल उद्यमी हुनुहुन्छ ।

आफ्नै बलोबुतोले अघि बढेकी मधुमा व्यवसाय गर्ने सोच कसरी आयो ? मधु जसरी आज उद्यम व्यवसायमा स्थापित हुनु भएको छ यसको पछाडि उहाँको ठूलो संघर्ष लुकेको छ । मधु बालखैदेखि सोच्नु हुन्थ्यो कालिकोटमा किन महिला यति धेरै पछाडि परेका ?

आफ्ना लागि किन आफैँ कमाउन नसकेका ? किन महिलाले केही गर्न पनि पुरूषकै भर पर्नु पर्ने ? यस्तै–यस्तै प्रश्न उहाँको मनमा आइरहन्थ्यो । यही प्रश्नको उत्तर खोज्दा आज उहाँ सफल उद्यमी बन्नु भएको छ । ‘मलाई सानै उमेरबाट आफैँले केही गर्नुपर्छ भन्ने लाग्थ्यो ।

सायद त्यसकै प्रतिफल हुनुपर्छ आज म आफ्नै बलोबुतोमा उद्यमी बन्न सकेकी छु ।’ स्नातकसम्म अध्ययन गर्नु भएकी मधुले २१ वर्षमा नै स्थानीय स्कुलमा करारमा पढाउन थाल्नु भयो । उहाँको रूचि थियो उद्यमी बन्ने । दुई वर्ष स्कुल पढाए पछि जागिर छोडेर उद्यममा लाग्नु भयो ।

हातमा सीप भएमात्र उद्यमी बन्न सहज हुन्छ भन्दै उहाँ काठमाडौंको भैँसेपाटीस्थित सीप केन्द्रमा आएर छ महिना सिलाइकटाई तालीम लिनु भयो । तालीम सकिएर घर फर्कदै गर्दा उहाँको काधमा चारवटा लुगासिउने मेशिन थिए । हातमा सीप र काधमा मेशिन बोकेर मधु कालिकोट पुग्नु भयो ।

पचाँस हजार रूपैयाँमा किनेका मेशिनबाट उहाँले शुरू गर्नु भयो सिलाइकटाईको काम । मधुले आफूले तालिम लिएपछि अरूलाई पनि सिलाइकटाई तालीम दिनका लागि ‘दिदीबहिनी सिलाई बुनाइ तालीम केन्द्र’ स्थपना गर्नु भयो । कालिकोटमा सिलाइकटाई तालिम केन्द्र खोल्दा २/४ वटा पेटिकोटबाट उहाँको व्यवसाय शुरू भएको थियो ।

यो केन्द्रबाट मधुले धेरैलाई तालिम पनि दिनु भयो । उहाँको सिलाइकटाई तालिम केन्द्र राम्ररी चलिरहेको थियो । तर, उहाँ यतिमा मात्र सीमित रहनु भएन । उहाँले आफू मात्र होइन आफूजस्तै अरू महिलालाई पनि समेटेर अन्य व्यवासय पनि गर्ने सोच राख्नु भयो ।

‘कालीकोटका महिला आर्थिक र सामाजिक, स्वास्थ्य, शिक्षा जस्ता सबै क्षेत्रमा पिछडिएका छन् ।
‘केही महिलालाई मेरा कारणले रोजगार सृजना हुन सक्छ भने किन उहाँहरूलाई पनि व्यवसायमा संलग्न नगराउने भन्दैे व्यवसायमा संलग्न गराएकी हुँ’, उहाँ भन्नुहुन्छ ।

अहिले मधुले नेतृत्व गरेको व्यवसायमा सिलाइकटाई, गलैँचा बुन्ने, डाली नाङ्ला बुन्ने, अल्लो र सिस्नुबाट उत्पादन गरिने कपडा साथै अम्रिसोको कुचोँ समेत उत्पादन र विक्री वितरण गर्दै आउनु भएको छ । अहिले मधुले गलैँचा व्यवसायमा मात्र लाखौको लगानी गर्नु भएको छ ।

मधु तथा उहाँको टिमले उत्पादन गरेका सामान स्थानीय बजारदेखि काठमाडौंसम्म आइपुग्छन् । साथै, उहाँले डेढ करोड रूपैयाँको लगानीमा ड्राइभिङ सेन्टर खोल्नु भएको छ । जहाँ ६ जना कर्मचारी काम गर्छन् ।

सात वर्ष अघि मधुले आफू र आफ्ना श्रीमानको लगानीमा एक सरकारी खाली जग्गामा एउटा पुरानो कार र एउटा मोटरसाइकलबाट ड्राइभिङ सेन्टर शुरू गर्नु भएको थियो । पछि मधु आफैँले बैंकबाट विना धितो ऋणमा १५ लाख रूपैयाँ र अन्य मानिसहरूको ऋण सहयोगमा निजी जग्गा भाडामा लिएर ड्राइभिङ सेन्टरलाई व्यवस्थित गर्नु भयो ।

आज उहाँको ड्राइभिङ सेन्टरले राम्रो प्रतिफल दिइरहेको छ । ‘महिलाले आफ्नो घरपरिवार सम्हाल्दै व्यवसायमा लाग्नु त्यति सहज कुरा होइन,’ उहाँ भन्नुहुन्छ । ‘म विहान पाँच बजेदेखि राती १० बजेसम्म निरन्तर व्यवसायमा खटिन्छु । मसँग एक मिनेट पनि खेर फाल्ने समय छैन् ।

म समय तालिका अनुसार काम गर्छु,’ उहाँ भन्नुहुन्छ । यस्तै उहाँले आफूसँगका अन्य महिलाहरूले घर परिवार र व्यवसायलाई सगैँ लैजानु पर्छ भन्ने हेतुले विहान र दिउँसोमा काम गर्ने समय तालिका बनाइदिनु भएको छ । ‘हामी काम गर्नेलाई समय नै पुग्दैन्,’ मधु भन्नुहुन्छ ।

३६ वर्षीय मधुका १४  र नौं  वर्षीय दुई छोरा र ३ बर्षकी छोरी हुनुहुन्छ । उहाँका श्रीमान्ले पनि व्यवसायमा सघाउनु भएको छ । उहाँका श्रीमान कालिकोट भन्दा बढी काठमाडौं बस्नुहुने भएकाले कालिकोटको व्यवसायको मधु आफैँले नेतृत्व गर्नु हुन्छ ।
मधु यहाँसम्म आइपुग्नका लागि आफ्नो प्रयाससँगै अन्य धेरै मानिसहरूको साथ रहेको बताउनु हुन्छ ।

कालिकोटका महिला, नेपाल महिला उद्यमी महासंघ (एफवीन) श्रीमान् आदिको सहयोग रहेको छ । एफवीनले समयसमयमा तालिम पनि प्रदान गरेको छ । साथै, ऋणका लागि पनि एफवीनले नै सहजीकरण गर्दिएको मधु बताउनु हुन्छ ।

महिला अघि बढ्नका लागि आफैँले केही गर्नु पर्ने उहाँको भनाइ छ । ‘जबसम्म हामी आफैँ आर्थिक उपार्जनमा पछि पर्छौ त्यति नै हामी कमजोर बन्छौँ । यसका लागि हामीले घरमा नै भएपनि केही न केही आर्थिक उपार्जन हुने काम गर्नुपर्छ,’ उहाँ भन्नुहुन्छ ।