पुस्तक समीक्षाः इन्द्रमाया पौड्यालको ‘शताब्दी यात्रा’

0
179

काठमाडौं । शताब्दी पार गरेका व्यक्तिको व्यक्तित्व पढ्न पाउनु आफैँमा एउटा ऐतिहासिक क्षण हो । अत्यन्त कम मानिसलाई मात्र सय वर्षमा आफ्नो जीवनी लेख्ने सौभाग्य जुर्छ । र, शताब्दी यात्रा पार गरेका व्यक्तित्वको ओजपूर्ण जीवनी साक्षात्कार गर्नु पाउनु पाठकका लागि सौभाग्य पनि हो ।

जीवनी किन लेखिन्छ, के का लागि लेखिन्छ र कसको जीवनी लेखिन्छ भन्ने कुरा आफैँमा एउटा अनुत्तरित उत्तर भएपनि जीवनका भोगाइ, अनुभव एउटा पुस्ताले अर्को पुस्तालाई गरिएको हस्तान्तरण हो ।

हेर्दा सामान्य लाग्ने तर, महान् कार्य गरेका तथा उत्तिकै अनुभवले खारिएका मानिस हाम्रै वरिपरि छन् । इन्द्रमाया पौड्याल त्यसैको प्रतिरूप हुनुहुन्छ र, उहाँको ‘शताब्दी यात्रा’ पनि । जीवनीले पाठकको हृदयलाई छुने, उल्लेखित समय र घटनाक्रममा जीवन्तता हुनु पर्छ । ‘शताब्दी यात्रा’ ले पनि यी कुरालाई आत्मसाथ गरेको छ । यो पुस्तक प्रेरणा र धैर्यताको श्रोत पनि हो ।

‘शताब्दी यात्रा’ इन्द्रमायाले सय वर्षको दौरानमा आफूले तीन देशमा देखेका भोगेका र साक्षात्कार गरेका अनुभवको संगालो हो । ‘शताब्दी यात्रा’ पढ्दै गर्दा इन्द्रमायाको जीवनमा काहाली लाग्दा घटनादेखि परम् सुखानुभूतिको अनुभवलाई साक्षत्कार गरिन्छ ।

पुस्तकको शुरूवात हुन्छ उहाँको बाल्यकालबाट । बर्मामा हुर्केको उहाँको बाल्यकाल स्वर्णीम छ । ब्राहम्ण परिवारमा जन्मिएकी बालिका जसले घरमै शिक्षा दिक्षा प्राप्त गर्नुभयो । जुनबेला महिलाले पढ्न त के घरबाहिर निस्कन पनि साहस गरिदैँनथ्यो।

त्यो समयमा उहाँले संस्कृत अध्ययन गर्नु र कर्मकाण्ड विधि पूरा गर्न सक्नु समाजका लागि चुनौतिमात्र नभएर परिवर्तनको ढोका खोलिएको पनि हो । उहाँ शिक्षित नारी मात्र होइन, एउटी विदुषी, एउटी साहसी र धैर्यवान पृथ्वी नारीका रूपमा उभिनु भएको छ । ‘शताब्दी यात्रा’ त्यसैको प्रतिफल हो ।

पुस्तक पढ्दै गर्दा एक शताब्दी यात्रामा उहाँले भोग्नु भएका पीडाका दृष्टान्तले जो कोहीको मुटु कपाउँछ । एक नारी जो आठ सन्तानकी जननी जसले सकुशल पाँच सन्तानलाई श्रीमान् विना एक्लै हुर्काउनु भयो । कैनै पनि भौतिक सुख सुविधा मात्र होइन घरमा खाने एक मुठी चामल नभएको अवस्थामा पनि आफ्ना छोराछोरीलाई शून्यताबाट शिखरसम्म पुर्‍याउँनु चानचुने कुरा होइन् ।

एकल नारीले समाजको कुसंस्कार र कुरीतिसँग पौँठाजोरी खेल्दै, न खाने गाँस, न बस्ने बाँस, तर, पनि सन्तानलाई उच्च शिक्षा दिलाउने दृढ अठोटको चित्रण नै ‘शदाब्दी यात्रा’ हो । पुस्तकमा दोस्रो विश्व युद्धको काहाली लाग्दो घटनाका दृष्टान्त आँखा अगाडि आउँछन् ।

सुत्केरी शरीर २२ दिनसम्म खाल्टोमा जीवन, भएका गाईभैसी सबै मरे । सम्पत्तिका नाममा एकटिन चामल र ओछ्याउने एउटा डसना । काखको छोरो बित्यो । शून्यतामा झर्यो जीवन ! पटक–पटक शून्यताबाटै शुरू भएको छ इन्द्रमायाको जीवन ।

पुस्तकमा प्रसङ्ग छ ‘जीवन अनेकौँ संयोगहरूको नाम हो सायद’ हो इन्द्रमायाको जीवन पनि अनेकौँ संयोगको यात्रा भैदियो । न जन्मस्थानको पहिचान, न हुर्किएको मुलुक बर्माले दियो पहिचान ।

एकल महिला पाँच सन्तान बोकेर न घर न बाँस न सम्पत्ति विना सहारा अन्धाधुन्ध नेपालको यात्रा । राजा महेन्द्रले बर्माको विषम परिस्थितिबीच आफ्ना जनता आफ्नै देशमा फर्काउने वातावरण तय गर्नुभयो ।

त्यसमा एक परिवार इन्द्रमायाको पनि नेपाल आउने भयो । नेपाल फर्कनका लागि कागजात बनाउन गएका श्रीमान्को बाटोमै मृत्यु भयो । सेतो वस्त्रमा पाँचजना छोराछोरी च्यापेर इन्द्रमायाले एक्लै नेपालको यात्रा गर्नु भयो ।

उहाँ लेख्नुहुन्छ ‘बर्माबाट हिड्दा छोराछोरी बाहेक रित्तो हात हिड्नु पर्‍यो । अहिले सम्झँदा कुन साहसले हिँडेँ होला भन्ने लाग्छ ।’ यात्रा थियो नेपालको गाँसबासँको कुनै ठेगान नभएपछि भारतको कलकत्तामा एक वर्षे बसाइको थप अनुभव गर्‍यो इन्द्रमायाको परिवारले ।

इन्द्रमायासँग केही थियो भने त्यो हो साहस र थोर बहुत ज्ञान । पुस्तक पढ्दा लाग्छ उहाँको अन्तरमनको चक्षु नै ‘शिक्षा नै ज्योति हो र शिक्षाले नै शिखरमा पुर्‍याउँछ’ । ‘शताब्दी यात्रा’ पढ्दैगर्दा धेरै ठाउँमा मन अमिलो हुन्छ ।

आँखामा आँसु टप्किन्छ । लाग्छ मान्छेलाई यतिसम्म पनि दुःख हुन्छ । इन्द्रमायाले पुस्तकमा आफूलाई अब्बल नारीको दर्जामा राख्नुभएको छ । आर्थिक र शैक्षिक रूपमा महिला कसरी सबल हुनुपर्छ भन्ने कुरा पुस्तकमा देखाउन खोजिएको छ ।

इन्द्रमाया भन्नुहुन्छ ‘मलाई अति दुःख परेको बेलामा मेलै सिकेको विद्या पनि काम लाग्यो । यसरी जति दुःख भएपनि मैले छोराछारी र नातिनीलाई विद्या सिक्नबाट वञ्चित गराइन ।’  यी पंक्तिबाटै थाहा हुन्छ उहाँको शैक्षिक चेतना स्तर । त्यसमा पनि उहाँको जीवनीको सार नै विशेषगरी छोरीले शिक्षा/दिक्षा पाउनु पर्छ भन्नेमा जोड छ ।

लगभग ६० /६५ वर्ष अघि नै उहाँले छोरीलाई स्कुल पठाउनु भयो । जुन समयमा छोरीलाई स्कुल जाने अनुमति अधिकांश बुबाआमाले दिदैँनथे । त्यसै समयमा उहाँले आफ्ना छारीलाई सीपयुक्त शिक्षामा जोड दिनु भयो । उहाँ लेख्नुहुन्छ ‘छोराले जे गरेर पनि खान्छन्, छोरीले चाहिँ पढ्नुपर्छ । आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने लाग्थ्यो पहिल्यैँदेखि।’

पुरूषले घरकी श्रीमतिलाई छोड्दै अर्को विवाह गर्दै हिड्दा परिवारमा त्यसले पार्ने असर पुस्तकमा प्रत्यक्ष देखिन्छ । इन्द्रमायाका बुबाले तीनओटी श्रीमति विवाह गर्नु भयो । माइली श्रीमतिकी छोरी हुनुहुन्छ इन्द्रमाया बर्मामा भएका आफ्नी दुई जिउकी श्रीमति र छोरी छोडेर लापत्ता हुनुभयो इन्द्रमायाका बुबा ।

एक्कासी २६ वर्षपछि बुबाले पठाएको झोला आफूसम्म आइपुग्दाको क्षण सुनाउँदै लेख्नुहुन्छ ‘बुबाले पठाउनु भएको झोला खोलेर हेरेपछि त हामी सबैजना के भयौँ–भयौँ । हामी लाटियौँ, हाम्रो बोली हरायो, हामी भावशून्य बन्यौँ । अतिशय हर्षले विभोर पनि थियौँ । यतिका वर्षसम्म बेखबर हुनुभएको पीडा र त्यसो किन गर्नुभएको होला भन्ने उत्सुकताले बेरिएका थियौँ ।’
पुस्तकमा मानिसको चेतना स्तर र समाजको कुसंस्कारबीचको द्वन्द्व देख्न सकिन्छ । मानिसको जीवनमा शिक्षाको महत्व, अज्ञानरुपी समाज र संस्कारलाई ज्ञानले भर्नु कत्रो विद्या । सूर्यग्रहण लागेका दिन नुहाएर चिसै लुगामा तुलसीको मोठ छेउमा इन्द्रमायाले गीता पढ्दा गाउँमा पञ्चायत बस्यो । समुदायले नै झण्डै गाउँ निकाला गर्‍यो ।

घर धान्ने जेठो छोरा लापत्ता हुँदा कस्तो पीडा भाग्नु पर्‍यो इन्द्रमायाको परिवारले । कयौँ दुःखका घटनालाई साक्षात्कार गर्दै अगाडि बढेको इन्द्रमायाको जीवनले छोराछोरी बढेपछि, पढेपछि बल्ल कोल्टे फेर्यो। भौतिक सुखले भरिपूण बन्यो इन्द्रमायाको जीवन । तर, पनि दुःखित घटनाले पिरोल्न भने छोडेन उहाँलाई ।

आफ्नै सन्तान आफूभन्दा अघि लाग्दाको पीडा उहाँको मुटुमा ठोकिएको छ । बालखैँमा वितेका बाहेक दुई छोरी र बुहारीको मृत्युको शोक भोग्नु परेको छ इन्द्रमायाले । पूर्ण स्मरणशक्तिमा उल्लेख भएका घटनाले इन्द्रमायाको स्मरणशक्तिको प्रसंसा गर्ने ठाउँ छ पुस्तकमा ।

पुस्तकमा केही कुरा अधुरा छन्, जस्तो एक ठाउँमा लेखिएको छ, इन्द्रमायाका श्रीमान् अफिमको अम्मलमा पर्नु भयो । तर, त्यसको विस्तृत वणर्न छैन् । यो उमेरमा त्यो प्रसंगको वणर्न आवश्यक पनि नरहन सक्छ । जेठी छोरी दिनाका ज्वाइसँगको प्रसंग पनि अधुरै छ । इन्द्रमायाका आफ्ना बुबा हराएपछि कसरी गुजरा गर्‍यो इन्द्रमायाको परिवारले त्यसको पनि विस्तृत वणर्न पुस्तकमा पाइदैन् ।

एक नारीले एक शताब्दी यात्रा अनुभवको जीवनी पाठकलाई प्रदान गर्नु भएको छ । यो पुस्तक पढ्दा फगत अहिले जीवनी लेख्ने जुन होड छ त्यसलाई यस पुस्तकले पछ्याउँदैन् । पुस्तकको मूल्य ३०० रहेको छ । पुस्तक पाइने स्थान  प्रगती बुक्स एण्ड स्टेशनरी पद्य्मोदय मोड (पूर्वपट्टी) , पुलतीसडकमा र थुप्रै डट www.thuprai.com मा गएर लिन सक्नु हुनेछ ।