यसरी घरमै बनाउनुहोस्, पिरो अकबरे मुस्ताङी आलु
काठमाडौं । आलुका अनेक परिकार हुन्छन् । तरकारीको राजा पनि भनिन्छ आलुलाई । आज हामी मुस्ताङमा फल्ने आलुलाई पिरो र स्वादिष्ट बनाएर कसरी खाने भन्ने बारेमा जानकारी दिन गइरहेका छौं ।
परिकारः मुस्ताङी पिरो आलु
सामग्रीः
आलुः मुस्ताङ वा अन्य ठाउँको आलु तपाईंलाई चाहिने जति, आलु अली लाम्चो
तोरीको तेलः २ ठूलो चम्चा,अन्य तेल भएपनि हुन्छ
टिम्मुरः थोरै,आधा चम्चा
खुर्सानीः पाउडर,आधा चम्चा
२ वटा जति, अकबरे खुर्सानी
मेथीः आधा चम्चा
बेसारः आधा चम्चा
अदुवा र लसुनको पेष्ट वा सानो टुक्रामा काटेको
धनियाँ पाउडर
जिरा पाउडर
हरियो प्याज पत्ता
बनाउने विधि
पहिला आलुलाई उसिन्नुहोस् । आलु उसिन्दा फ्यात्त हुनेगरी नउसिन्नुहोस् । ठिक्क उसिनेको आलुलाई लाम्चो पारेर मिलाएर काट्नुहोस् । यसरी आलुलाई काटेपछि कराइमा तेल तताएर आलुलाई मजाले फ्राइ गर्नुहोस् । आलुलाई रोतो हुन्जेलीसम्म फ्राइ गर्नुहोस् ।
आलु फ्राइ भइसकेपछि अर्को प्यान वा कराइमा अलिकति टिम्मुर र रातो सुकेको १/२ वटा खुर्सानीलाई भुट्ने । भुटेको टिम्मुर र खुर्सानीमा अकबरे खुर्सानी पनि मिसाएर पिस्ने ।
अकबरे खुर्सानीले आलुलाई पिरो मात्र बनाउँदैन यसले छुट्टै स्वाद पनि दिन्छ । अब पिरो आलु बनाउनका लागि कराई वा प्यानमा ठूलो २ चम्चा जति तोरीको तेल हाल्ने र तताउने । तेल तोरीकै चाहिन्छ भन्ने छैन् ।
तेलमा मेथी, सानोसानो टुक्रामा काटेको अदुवा र लसुन हाल्ने । अदुवा र लसुन रातोरातो हुन लागेपछि त्यसमा अघि पिसेर राखेको टिमुर र खुर्सानीको धुलो राख्नुहोस् ।
यसमा थोरै वेसार, थोरै जिरा धनियाँ पाउडर, मसिनो पारेर काटेको हरियो धनियाँ, हरियो प्याज सबैएकछि राख्दै जानुहोस् । यसरी सबै कुरा राखिसकेपछि यसलाई एकछिन भुट्नुहोस् ।
यसमा स्वादअनुसार नुन पनि राख्नुहोस् । यसमा धुलो खुर्सानी पनि राख्न सक्नुहुन्छ । धुलो खुर्सानी आफूलाई मनपर्छ भने मात्र राख्न सक्नु हुन्छ । नभए नराख्दा पनि हुन्छ । अब यसमा अघि तयार पारिएको आलु राख्नुहोस् । र, राम्ररी चलाएर एकछिन भुट्नुहोस् ।
यति गरेपछि मुस्ताङ आलु खानका लागि तयार भएको छ । यो पिरो र स्वादिलो जिब्रोमा झुण्डिने आलुलाई तपाईले स्नाकका रुपमा पनि खान सक्नुहुनेछ । चिउरा वा अन्य खानेकुरासँग पनि खान सक्नु हुनेछ । यसरी बनाएको आलु रेष्टुरेन्टको भन्दा कम हुने छैन् । अझ स्वस्थकर पनि हुन्छ ।
टिप्पणीहरू