पहिलो पटक निमित्त मुख्य सचिवमा महिला नियुक्त
काठमाडौं । नेपालको इतिहासमा पहिलो पटक सरकारले निमित्त मुख्य सचिव लिलादेवी गड्तौलालाई कायम मुकायम मुख्यसचिवको जिम्मेवारी दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हाल निमित्त मुख्यसचिव रहनु भएको गड्तौलालाई कायममुकायम मुख्यसचिव बनाउने निर्णय गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई गत १० असारमा राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उक्त पदमा सरुवा गर्ने निर्णय भएको थियो । त्यसपछि प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव गड्तौलाले वरीष्ठताका आधारमा स्वतः निमित्त मुख्यसचिवको जिम्मेवारी पाउनु भएको थियो ।
सरकारले अनुकलका मुख्यसचिव ल्याउने वातावरण नबन्दासम्म कायममुकायम मुख्यसचिव नियुक्त गरेको हो । विगतमा सरकारले मुख्यसचिवलाई जिम्मेवारीविहीन बनाएर नयाँ व्यक्तिलाई कायममुकायम मुख्यसचिव दिएको उदाहरण छ ।
सोमबारको मन्त्रिपरिषदको निर्णयले तत्कालै मुख्यसचिवका लागि हुनसक्ने दौड केही समय रोकिनेछ।
टिप्पणीहरू