पोखरा । बागलुङको बडिगाड गाउँपालिकामा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीका अनुसार बागलुङको वडा नम्बर १० दर्लिममा ६ जना र वडा नम्बर ९ को बलघाँसमा २ जना गरी आठ जनाको मृत्यु भएको हो । 
बडीगाड गाउँपालिका १० मा घरगोठ बगाउँदा मृत्यु हुनेमा ७ वर्षीया मालती बुढा, ७ वर्षीया मधु बुढा, सञ्जु विककी ६ महिने नाबालिका छोरी, १३ वर्षीय मनोज बुढा, अन्दाजी १२ र १३ वर्षका अमन बुढा र ५९ वर्षीय मैतीदेवी विक रहनु भएको छ ।

यस्तै सुमित्रा विक, सीता थापा  संगीता बुढा, र मंगलसिंह बुढा घाइते हुनु भएको छ । साथै  वडा नम्बर ९ मा १५ वर्षीय विधान परियार र गंगा विकको मृत्यु भएको सुवेदीले जानकारी दिनु भएको छ  ।


घाइतेहरुलाई उद्धार गर्न जिल्ला सदरमुकामबाट हेलिकोप्टर पठाउन लागिएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 



टिप्पणीहरू

सम्बन्धित समाचार