काठमाडौं । करिब ७५ वर्ष पहिले एक नारीले गरेको हिम्मतले आज करिब डेढ करोड नेपाली महिलाले स्वतन्त्रपूर्वक आफ्नो मताधिकार तथा शिक्षा लिन पाउने अधिकार प्रयोग गर्न पाएका छन् । यसको श्रेय जान्छ, नेपाली कांगे्रसकी नेता मंगलादेवी सिंहलाई ।

तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरलाई चुनौती दिँदै महिलाले पनि भोट हाल्ने अधिकार प्राप्त गर्नुपर्छ भन्ने आँट गर्नु भएको थियो उहाँले ।

२००४ सालमा ४५ जना महिलाहरु मिलेर ‘नेपाल महिला संघ’ स्थापना गर्नु भयो । र, संघको अध्यक्षमा मंगलादेवी सिंह हुनुभयो । उक्त महिला संघको महासचिवमा स्नेहलता गुरुवाचार्य, सदस्यमा साधना प्रधान लगायतको सक्रिय भूमिकामा यो संगठन स्थपना भएको थियो ।

महिला संघले पत्रिका निकाल्ने, पुस्तकालय स्थापना गर्ने, विद्यालय चलाउनेलगायत काम गर्ने गरेको थियो । मंगलादेवीको क्रान्ति र सक्रिय राजनीतिलाई एउटा सामान्य योगदानका रूपमा हेर्न मिल्दैन । अहिलेको जस्तो सञ्चार, शिक्षा, स्वास्थ्य, तथा सर्वप्रथम त जनचेतना नै नभएको समाजमा जहाँ महिलालाई मान्छे नै गनिन्दैनथ्यो ।

साथै, देशमा खुलेका केही स्कुलमा पुरुषमात्र पढ्न पाउने महिला पढ्नबाट वञ्चित भएको कुरा संघको अध्यक्ष भएका नाताले मंगलादेवीले पद्मशमशेरलाई राख्नु भएको थियो ।

त्यस समयसम्म नेपाली महिलाले सावा अक्षर चिन्न स्कुल जान पाउँदैनथे । महिलाले पढ्न पाउनुपर्छ र शिक्षाले मात्र महिला अधिकार स्थापित हुन्छ भन्ने चेत थियो, मंगलादेवीमा । नेपाली महिलाका लागि स्कुल खोलियोस् भन्दै पद्मशमशेरकै अगाडि गएर निडर भई बोल्नु आफैमा राणा शासनविरुद्धको आवाज थियो ।

उहाँले त्यो आट गर्नु भएको थियो । आफू र स्नेहलतासहित केही महिलाले पद्मशमशेरलाई भेटी कसरी महिला मताधिकार र शिक्षाको माग गरेका थिए भन्ने दृष्टान्तलाई उहाँ आफ्नो पुस्तक ‘नारी संघर्षका पाइलाहरू’ मा यसरी उप्काउनु भएको छ ।

भोट र स्कुलका बारेमा मंगलादेवीको प्रसङ्ग
केही जागरुक महिला साथीहरूसँग मंगलादेवी तत्कालीन सरकार पद्मशमशेरको दरबार पुगिन् । केही छिनको प्रतीक्षापछि पद्मशमशेरबाट भेट्नलाई अनुमति भयो । प्रधानमन्त्री पद्मशमशेरले सोधे के भन्न आयौ तिमीहरू ? मंगलादेवीले भनिन्, ‘नगरपालिकाको चुनाव हुन लागेको छ । हामी महिलाहरूलाई पनि भोट दिने अधिकार दिनुपर्छ सरकार !’
‘महिलाहरूलाई भोट दिने अधिकार कहाँ छ ? पद्मशमशेरले प्रश्न गरे । उनले भनिन्, ‘सबैतिर नहोला । जहाँजहाँ अधिकार दिइएको छ, ती समाजमा महिलाको स्थिति राम्रो छ ।’
‘अरू केही छ ?’ पद्मशमशेरले सोधे ।
‘महिलाहरूले पनि स्कुलमा पढ्न जान पाउनुपर्छ सरकार !’ उनले भनिन् ।
‘स्कुल खोले कसले पढ्छ ?’ पद्मशमशेरले सोधे ।
‘स्कुल मात्र खोलियोस् सरकार पढ्ने महि लाहरूको खाँचो हुँदैन । सरकार ! आप्mनै नामबाट खोलियोस् । सरकारको नाम रहने, हामीले पनि पढ्न पाउने,’ मंगलादेवीले भनिन् ।
‘अहिले जाओ । भोट अधिकार पाउँछौं । स्कुलको कुरा राम्रो छ । म विचार गर्छु ।’ यति भनेर पद्मशमशेरले उनीहरूलाई बिदा दिए ।
पद्मशमशेरले त्यो भेटघाटको केही दिनपछि नै डिल्लीबजारस्थित आप्mनै जग्गा र भवनमा पद्मकन्या स्कुलको स्थपना गराए । नगरपालिकाको चुनाव त भएन तर २०१५ सालको चुनावमा महिलाले पनि भोट हाल्न पाए ।
(मंगलादेवी सिंहको कृति ‘नारी संघर्षका पाइलाहरू’ बाट साभार ।)

नेपाली राजनीतिमा मंगलादेवीको योगदान अतुलनीय र अवर्णनीय छ । मंगलादेवीलाई गणेशमानकी श्रीमतीका रूपमा मात्र लिन मिल्दैन । उहाँ नेता गणेशमान सिंहकी श्रीमती भए पनि विवाह गरेको ४ महिनामा नै गणेशमान जेल पर्नु भयो । त्यसपछिको समय मंगलादेवीले आफ्नो राजनीतिक संघर्षको रेखा आफै कोर्नु भयो ।

नेपाली महिला अधिकार तथा महिला मुक्तिका लागि उहाँको भूमिका र संघर्षको जति नै प्रशंसा गरे पनि पुग्दैन् । देशमा राजनीतिक चेतना भर्खर बीजारोपण हुँदै गर्दा उदाउनु भएको थियो, मंगलादेवी । राजनीति पारिवारिकमा भए पनि राजनीति गर्ने नगर्ने उहाँको निर्णयमा भर पर्ने कुरा थियो । घरको सुख सयललाई त्यागेर मंगलादेवीले राजनीति रोज्नु भयो।

राजनीतिमा नहोमिन परिवारको चर्को दबाबलाई बेवास्ता गर्दै उहाँ राजनीतिमा होमिनु भयो । १९८१ सालमा काठमाडौंमा जन्मनु भएकी मंगलादेवीले १९९७ सालमा नेपाली कांग्रेसका नेता गणेशमान सिंहसँग विवाह बन्धनमा बाधिनु भएको थियो । विवाह गरेको ४ महिनामा नै उहाँका श्रीमान् गणेशमानलाई जन्मकैदको फैसला सुनाइयो ।

१० वर्षको कारवासपछि मात्र उहाँर गणेशमानको भेट भएको थियो । त्यसै समयमा उहाँले भूमिगत रूपमा संगठनको काम अघि बढाइरहनु भयो ।

महिला पढ्नुपर्छ । महिलाले आफ्नो अधिकार स्थापित गर्नुपर्छ भन्ने चेतना नभएको समाजमा उहाँले गरेको योगदान अतुलनीय नै छ ।
आज नेपालमा ३३ प्रतिशत महिला सहभागिता छ, यसको श्रेय पनि तिनै महिलालाई जान्छ, जसले हाम्रै लागि र हाम्रा अधिकार संरक्षणका लागि लड्दै बढ्नु भयो।

२००७ सालको क्रान्तिमा मंगलादेवीको ठूलो भूमिका थियो । सिंहलाई २०१७ सालमा संसदीय व्यवस्थाको अपहरण भएपछि त्यसको विरोधमा ५ वर्ष कैद गरियो । जेल नेल भोग्नु भएकी मंगलादेवी नेपालका अब्बल पुरुष नेताभन्दा कम हुनुहुन्थेन। राजनीतिक रूपमा २०२५ सालमा उनी ८ वर्ष प्रवासमा रहेर पार्टी र नेपाली महिलाका लागि काम गरिरहनु भयो।

मंगलादेवी नेपाली महिलाको सशक्तीकरण, आर्थिक, राजनीतिक तथा अधिकारका बारेमा वकालत गर्नु भएको थियो । राजनीतिक कार्यक्रमलाई अघि बढाउँदा उनले साढे २ सय तोला सुनको गरगहना बेचेर राजनीतिक कार्यकर्ता तथा पार्टीलाई सघाएको उहाँको कथन छ ।

तत्कालीन समाजमा महिला पुरुषको ‘चरणको दासी’ बनेर मात्र बस्ने नभई आफ्नो अधिकारका लागि पनि लड भन्ने आत्मविश्वासी, परिपक्व, जिम्मेवार नारी हुनुहुन्थ्यो, मंगलादेवी । निरकुंशताको साङ्लो चुडाउनु त्यति सजिलो कुरा होइन ।

नेपाली महिलालाई आफू महिला मात्र भएको थाहा थियो । न शिक्षा न जनचेतना । महिला दास, दमन, श्रमशोषण विरुद्ध आवाज उठाउनु भएको थियो उहाँले । सिंहले २०४२ सालमा सत्याग्रह र २०४६ सालको आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो उहाँले । । २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा उहाँ पराजित हुनुभएको थियो । सिंहको वि.सं. २०५३ भदौ १० गते ७२ वर्षको उमेरमा निधन भएको थियो ।

 



टिप्पणीहरू

सम्बन्धित समाचार