काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला, बालबालिका तथा समाज कल्याण पूर्व राज्यमन्त्री मीना पाण्डेको निधन भएको छ ।

मंगलबार काठमाडौंको गौशालास्थित निवासमा पाण्डेको निधन भएको हो । पारिवारका अनुसार पाण्डेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा एक घण्टा राखिनेछ । साथै, स्वर्गीय पाण्डेप्रति सम्मान प्रकट गर्दै पार्टीले जेठ १६, १७ र १८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

२००८ सालमा जन्मएकी स्वर्गीय पाण्डेले २०३५ मा नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गर्नु भएको थियो । तीन पटकसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य रहेकी पाण्डे वि.स. २०४८, २०५१ र २०७४ मा प्रतिनिधि सभा सदस्य तथा । २०६४ मा संविधान सभा सदस्य हुनु भएको थियो ।

साथै उहाँ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको दुई पटक सभापति हुनु भएको थियो । नेतृ पाण्डेले नेपालमा प्रजातन्त्रको स्थापना र पुनस्र्थापनाका क्रममा धेरै पटक जेल जीवन बिताउनु भएको थियो। उहाँको निधनबाट एक अनुभवी महिला नेतृत्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको नेपाली कांग्रेसले जनाएको छ ।

यस्तै जेठ १७ गते बुधबारका दिन केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने, १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने कांग्रेसले जनाएको छ ।

 



टिप्पणीहरू

सम्बन्धित समाचार