प्रत्येक प्रदेशमा सुविधा सम्पन्न प्रसूति गृह बनाउन आवश्यक : माननीय कार्की
काठमाडौं । प्रतिनिधि सभा सदस्य चन्दा कार्की (भण्डारी) ले प्रसूति तथा प्रजनन स्वास्थलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भएकोछ ।
शुक्रबार प्रतिनिधि सभामा बोल्दै माननीय कार्कीले गर्भवती महिलाले उपचारको अभावमा अकालमा ज्यान गुमाउनु परेकाले त्यसको न्यूनीकरणका लागि सरकारले प्रत्येक प्रदेशमा सुविधासम्पन्न प्रसूति गृह बनाउनु पर्ने उहाँले बताउनु भयो ।
पिछडिएका क्षेत्रहरूमा स्वास्थ सेवा जनताको पुहँचमा नभएको र कार्णालीमा स्वास्थसेवा पुग्न अझैँ नसेकोमा पनि सरकारको ध्यानाकार्षण गराउनु भएको छ । उहाँले सभामा बोल्दै उपचारको अभावमा गतवर्ष मात्र कर्णालीमा १७ जना गर्भवती महिलाले ज्यान गुमाएको जानकारी दिनुभयो ।
संविधानको धारा ३८ को उपधारा २ ले प्रत्येक महिलाको सुरक्षित मातृत्व र प्रजननको हकलाई सुरक्षित गरेको भएपनि दूर्गम तथा पिछडिएका क्षेत्रका महिलाहरूले सुविधा नपाई मृत्युवरण गर्नु परेकोमा उहाँले दुःख व्यक्त गर्नु भयो ।
गर्भवती महिलाको जीवन रक्षाका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हवाई उद्धार गरी ज्यान जोगाउने कार्य भइरहेको भएपनि यसकार्यलाई देशव्यापी बनाउन उहाँले माग गर्नु भयो । हाल कार्यक्रम पूर्ण रूपले १९ वटा जिल्लाहरूमा मात्र लागू गरिएको छ । आव २०७८/७९मा यो कार्यक्रममार्फत १६९ महिला हवाईउद्धार गरि ज्यान बचाइएको छ ।
यसै अवधिमा ३ जना महिलालाई समयमा उद्धार गर्न नसकिदा ज्यान गएको उहाँले जानकारी दिनुभयो । स्वास्थ मन्त्रालयअन्र्तगत यो कार्यक्रम चलाउँदा अझ प्रभावकारी हुने उहाँको तर्क थियो ।
साथै उहाँले नाइट भिजन हेलिकप्टरको व्यवस्था पनि राज्यले गर्न आवश्यक रहेको बताउनु भयो । यसका साथै प्रसूति गृह थापाथलीमा हेलीप्याड बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
टिप्पणीहरू