सांसद केसी र मण्डलको अभिव्यक्तिप्रति शिक्षामन्त्री सुमना श्रेष्ठको आपत्ति
काठमाडौं । बुधबार नेपाली कांग्रेसका सांसद केसी र स्वतन्त्र सांसद मण्डलले संसदको रोस्टमबाटै दिएको अभिव्यक्तिप्रति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आपत्ति जनाउनु भएको छ । दुबै सांसदले रोस्टमबाटै स्त्रीद्वेषी अभिव्यक्ति दिनु भएको थियो ।
‘सांसदज्यूहरुका अभिव्यक्तिको भने अब के गर्ने’ रेकर्डमै राखेर भावी पुस्तालाई नेपालको इतिहासमा कुन तहसम्म ओर्लिएर स्त्रीद्वेषी हुन सक्छ भन्ने दस्तावेज बनाउने र पदले मात्र कोही माननीय बन्दैन भन्ने उदाहरण दिने वा रेकर्डबाट हटाएर हाम्रो ‘सभ्य’ सदनको ढोँगलाई निरन्तरता दिने,’ उहाँले प्रश्न गर्नु भएको छ ।
मन्त्री श्रेष्ठले आफूलाई चित्त नबुझेको कुरा भन्दै गर्दा सम्पूर्ण महिलालाई नै असक्षम र संकिर्ण सोच भएको हुन् भन्ने कुतार्किक अभिव्यक्ति पेश गरेको बताउनु भएको छ ।
‘हिजो सांसद राजेन्द्र केसीले सदनमा सम्बोधन गर्दा एउटा वाक्यांश प्रयोग गर्नु भएछ– सम्भवतः पुरुष मन्त्री भएको भए यो अवस्था आउँथेन होला। तपाईंले आफ्नो क्षेत्रमात्रै हेर्नुभएको छ,’ मन्त्री श्रेष्ठले भन्नु भएको छ , ‘आफूलाई चित्त नबुझेको कुरा भन्दै गर्दा सांसद केसीले सम्पूर्ण महिलालाई नै असक्षम र संकिर्ण सोच भएको हुने भन्ने कुतार्किक अभिव्यक्ति दिनुभएको छ।’
अर्का सांसद योगेन्द्र मण्डलले वैवाहिक बलात्कार जस्तो जघन्य अपराधका बारे बोल्दै गर्दा नारीलाई कसैको ‘रहर पूरा गर्ने साधन’को रुपमा चित्रण गरेको मन्त्री श्रेष्ठको ठहर छ।
समाजका संवेदनशील विषयमा अगुवा भनिएकाबाटै हुने यस्ता गैरजिम्मेवार र हल्का टिप्पणीले समाजलाई कुन दिशामा लैजान्छ भनेर विचार गर्न जरुरी रहेको उहाँको भनाइ छ ।
‘उहाँहरूको टिप्पणीले मलाई स्तब्ध बनाएको छ। उहाँहरूको कुतर्कप्रति मेरो घोर आपत्ति छ,’ उहाँले भन्नु भएको छ , ‘समाजको चेतनास्तर यो अवस्थामा हुनुको केही दोष देशको शिक्षा प्रणालीलाई पनि जान्छ। शिक्षित हुनुको अर्थ कक्षा उत्तीर्ण हुनु, गुणनका तालिका कण्ठ गर्नु र प्रमाणपत्र पाउनु मात्र होइन। शिक्षित हुनुको अर्थ जान्नु पनि हो।
सामाजको विविधता र पहिचानको विविधतालाई सम्मान गर्न जान्नु, के बोल्नुहुन्न र कस्तो मान्छे बन्नुहुन्न भनेर जान्नु पनि हो । असल मानिस र जिम्मेवार नागरिक हुनु हो शिक्षित हुनु भनेको।’
टिप्पणीहरू