काठमाडौं । नेपाली कांग्रेसको महिला संगठन नेपाल महिला संघका १२ जना जिल्ला अध्यक्ष हटाएपछि विवादले तीब्र रुप लिएको छ । केन्द्रीय अध्यक्ष उषा राउत मिश्रले एकलौटी निर्णय गरेर जिल्ला अध्यक्ष हटाएको भन्दै अर्को पक्षले विरोध गरेको हो ।

हालै अध्यक्ष राउतले सोलुखुम्बु, बारा, पर्सा, सिरहा, ताप्लेजुङ, इलाम, महोत्तरी, रौतहट, कास्की, झापा, हुम्ला र नवलपुर जिल्ला अध्यक्षलाई हटाएर नयाँ मनोनित गर्नु भएको छ ।

अध्यक्षको उक्त निर्णयको शेखर(गगन पक्षका महिला संघका २० केन्द्रीय सदस्यले २२ साउनमा पत्रकार सम्मेलन गरेर अध्यक्ष राउतलाई तीन दिनभित्र निर्णय सच्याउन समय सीमा तोकेका छन् ।

केन्द्रीय सदस्य डा। अमिता प्रधानका अनुसार संस्थापनइतरले आपसी सल्लाह नै नगरी अध्यक्ष राउत एकतर्फी अघि बढेको आरोप लगाउनु भयो । ‘कहाँ कहाँ समस्या हो, केन्द्रीय समितिमा छलफल गरेर एउटा कार्यविधि बनाउनुपर्यो नि’, उहाँले भन्नुभयो ‘कस कसलाई हटाएको हामीले सामाजिक सञ्जालबाट थाहा पाउनुपर्ने हो र ?’

अध्यक्ष राउतले भने केन्द्रीय सदस्य बनेका, उमेरका कारणले क्रियाशील हुन नसकेका तथा महिला संघ निष्क्रिय रहेका जिल्लामा नयाँ अध्यक्ष बनाउनै पर्ने वाध्यात्मक अवस्था रहेको बताउनु भएको छ ।

पार्टीका जिल्ला सभापतिहरुको सिफारिसका आधारमा महिला संघको जिल्ला अध्यक्ष चयन गरेको राउतकको दाबी छ ।
‘गुट हेरेर देउवा(शेखरको भनेर मनोनित गरेको होइन । ‘महिला संघको अस्तित्व नै जिल्लामा नभए जस्तो देखिएकाले यो निणर्य गर्नु परेको उहाँको भनाइ छ ।

महिला संघलाई जिल्लामा चलायमान गराउने असल नियतले नयाँ अध्यक्ष तोकिएको राउतको दाबी छ । कांग्रेसको विधान अनुसार पार्टीको माथिल्लो निकायमा जिम्मेवारी लिएपछि भ्रातृ संस्थाको पद स्वतः छोड्नुपर्छ ।

विधानतः महिला संघको अधिवेशन ३ वर्षमा हुनुपर्छ । २०७३ सालपछि संघको अधिवेशन हुन सकेको छैन । सभापति शेरबहादुर देउवाले गत साउनमा राउतलाई तदर्थ समितिको अध्यक्ष तोक्नु भएको थियो ।
जेठमा ५२ सदस्यीय केन्द्रीय सदस्य थपिएको छ । संघको विधान अनुसार केन्द्रीय समिति ८५ सदस्यीय हुने व्यवस्था छ ।

 



टिप्पणीहरू

सम्बन्धित समाचार