काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले आफूलगायत नेतालाई निलम्बन र निष्कासन गर्ने निर्णय प्रति एमालेकी निलम्बित केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले असन्तुष्टि जनाउनु भएको छ । फेसबुकमा स्टाटस लेख्दै उहाँले  पार्टीले गरेको यो निणर्य गणतान्त्रिक पद्धतिविपरीत भएको बताउनु भएको हो । 


उहाँ लेख्नु हुन्छ  ‘यो त गणतन्त्र हो, हाम्रा पञ्चायतविरुद्ध लडेर आएका नेताहरू नेतृत्वमा छन् । प्रजातन्त्र आयो, गणतन्त्र आयो । यो गणतान्त्रिक पद्धति र प्राणलीलाई नसुहाउने काम भयो । पञ्चायतविरुद्ध लडेर आउनुभएका नेतृत्वले पञ्चकै नक्कल नगर्नुभएको भए हुन्थ्यो ।’

पार्टीमाथि प्रश्न उठिरहेका बेला पार्टीले आफूलाई निलम्बित गरेकोमा उहाँको असन्तुष्टि छ ।  एमालेको बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको छ ।

मीनबहादुर गुरुङले पार्टी केन्द्रीय कार्यालयका लागि जग्गा र भवन दान दिने र एमालेले लिने निर्णयको आलोचना गरेकामा पाण्डे र तिम्सिना निलम्बनमा परेका हुन् । यसअघि उनीहरूलाई लिखित स्पष्टीकरण सोधिएको थियो । तिमल्सिना नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ को इन्चार्ज हुनुहुन्छ।

 



टिप्पणीहरू

सम्बन्धित समाचार